चितवन, साउन २५
इच्छाकामना गाउँपालिकाबाट यस वर्षको एसइइ परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्याल्कुलेटर दिँदै छ ।स्थापना दिवसमा मनाइने ‘एक्सपर्ट डे’ को अवसरमा एक्सपर्टले उक्त गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत सबै विद्यार्थीलाई क्याल्कुलेटर सहयोग गर्न लागेको हो ।
साउन २३ गते परेको स्थापना दिवसको अवसरमा एक्सपर्टले आयोजना गरेको विशेष समारोहमा दुईवटा माध्यमिक विद्यालयलाई क्याल्कुलेटर दिइसकेको छ भने बाँकी छ वटा विद्यालयलाई छिट्टै हस्तान्तरण गरिने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।उक्त समारोहमा निर्देशक अधिकारीसँगै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङलाई सत्ताइस थान र माध्यमिक विद्यालय रानीखोलालाई बीस थान क्याल्कुलेटर हस्तान्तरण गरे ।
त्यसबाहेक सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारलाई एक सय चार थान, त्रिवेणी वराह माध्यमिक विद्यालय मुग्लिङलाई सैँतीस थान, जनप्रिय माध्यमिक विद्यालय काउलेलाई चौबिस थान, माझगाउँ माध्यमिक विद्यालयलाई नौ थान, माध्यमिक विद्यालय ढुङ्ग्रेलाई तेइस थान र राष्ट्रिय माध्यमिक विद्यालय गर्दासलाई सैँतीस थान क्याल्कुलेटर सम्बन्धित विद्यालयलाई दिइने छ । “छिट्टै ती स्थानमा गएर हरेक विद्यार्थीको हातमा पर्ने गरी दिइने छ”, एक्सपर्ट चितवन रिजनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले भने– “व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एक्सपर्टले हरेक वर्ष सामुदायिक विद्यालयलाई गर्ने सहयोगको यो निरन्तरता हो ।”
इच्छाकामनाभर कक्षा दशमा अध्ययन गर्ने कुल विद्यार्थी दुई सय एकासी जना छन् । विकट क्षेत्रमा अध्ययनरत उनीहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर छ । “विपन्नताकै कारण त्यस क्षेत्रका विद्यार्थीलाई क्याल्कुलेटर किन्नसमेत अप्ठ्यारो हुने गरेको सुनिएको छ”, एक्सपर्टका निर्देशक अधिकारीले भने– “त्यही सहज होस् भनेर सहयोग गरेका हौँ ।”
































Discussion about this post