नागरिकतामा किर्ते गरेको आरोपमा धादिङको धुनीवेशी नगरपालिका- ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी पक्राउ परेका छन्। सात महिनादेखि फरार रहेका सुवेदीलाई प्रहरीले शनिबार काठमाडौँको कलंकीबाट पक्राउ गरेको हो।सार्वजनिक किर्ते मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारेको आरोप छ। सोही जन्मदर्ताको आधारमा नागरिकता बनाएर जग्गा बिक्री गरेको अभियोगमा उनीविरुद्ध दर्ता भएको मुद्दा अहिले पनि जिल्ला अदालत धादिङमा विचाराधिन छ।काठमाडौँबाट पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको छ।
यो मुद्धामा वडाध्यक्ष सुवेदी र साेही वडाका सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उनीहरूविरुद्ध १२ मंसिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको धादिङ प्रहरीले जनाएको छ।वडाध्यक्ष सुवेदीसँगै तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियारविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
प्रहरीका अनुसार जमुना परियारको छोराको उमेर बढाएर दोस्रो जन्मदर्ता बनाइएको थियो। जमुना र नाबालक छोराको नाममा जग्गा रहेको र उक्त जग्गा बेच्नका लागि कीर्ते जन्मदर्ता बनाएर नाबालकलाई बालिग बनाइएको थियो। त्यसपछि साबालक छोराको समेत अनुमति भनेर करोड भन्दा बढी मूल्यको जग्गा बेचेको खुलेको छ। सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट र गत निर्वाचनमा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।































Discussion about this post