नारायणी नदीको अस्तित्व नै संकटमा पर्दै गएको एक अध्ययनले संकेत गरेको छ । ‘नदीसँगै हामी अभियान’ मार्फत देवघाटधाम क्षेत्रदेखि गोलाघाटसम्मको आठ स्थानमा गरिएको अध्ययनले नदीमा फालिने जथाभाबी फोहोरका कारण नदीको अस्तित्व नै संकटमा पर्दै गएको संकेत गरेको हो ।
नारायणी नदी किनारमा गरिएको फोहोर नक्साङ्कन र लेखा परीक्षणले क्षेत्रीय फोहोर व्यवस्थापनमा गम्भीर चुनौतीहरू देखिएको बेटर चितवन र नदीसँगै हामी अभियानका फोहोर लेखापरीक्षक इन्जिनियर सागर कार्कीले जानकारी दिए । ‘प्लास्टिक, कपडा, सिसा, औषधिजन्य र जैविक लगायतका फोहोर मुख्य प्रदूषणका रुपमा देखा परेका छन्,’ आइतबार भरतपुरमा गरिएको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै कार्कीले भने ‘फोहोरका कारण नदीको स्वास्थ्य र आसपासको पारिस्थितिकी तन्त्रमा गहिरो असर पारेको छ।’
अध्ययनको क्रममा नारायणी नदीमा फोहोरको संरचना, घनत्व र प्रदूषणको मापन गरिएको थियो । त्यसको क्रममा नगरवन क्षेत्रमा प्लास्टिक प्रदूषणको गम्भीर प्रभावका कारण पारिस्थितिकीय तन्त्रमा असर पारेको देखिएको उनले बताए । उनका अनुसार धार्मिक स्थल, पर्यटकीय र पार्क क्षेत्रको बढी मात्रामा प्रभावित रहेको छ । प्लास्टिक जन्य र कपडा जन्य फोहोरमा देवघाट क्षेत्र बढी प्रभावित रहेको छ । अध्ययन टोलीले ७ स्थानमा प्रशोधन नगरी सिँधै नदी किनारमा ढल मिसाएको फेला पारेको छ ।
नदीसँगै हामी अभियान मार्फत गत कात्तिक महिनामा नारायणी नदीको देवघाटधाम, जोरकुशुम पार्क, नारायणी नदी किनार, नारायणगढको नदी किनार विद्यालय पछाडिको भाग, नगरवन, भगेरिथान र गोलाघाट क्षेत्रमा अध्ययन गरिएको थियो । यस क्रममा नगरवन क्षेत्रमा २२, शिवघाटमा १९, नारायणी नदी किनारमा १७, गोलाघाटमा १६ र देवघाट धाममा १५ प्रतिशत फोहोरको घनत्व विश्लेषण गरिएको इन्जिनियर कार्कीले बताए । नारायणी नदी किनारको प्रदर्शनी क्षेत्रले फोहोरको उच्च घनत्व योगदान गरेको छ । धार्मिक कारण पनि नदी प्रदूषण बढ्दै गएको अध्ययन टोलीको निष्कर्ष निकालेको छ ।
नदीमा सबैभन्दा बढी ४२ प्रतिशत प्लास्टिक जन्य फोहोर देखिएको छ । त्यसपछि कपडाजन्य, सिसाजन्य, जैविक फोहोर र डायपर प्याडजन्य फोहोर नदीमा फालिएको अध्ययन कर्ता आकृति सुवेदीले जानकारी दिइन् । देवघाट धाममा कपडा जन्य फोहोर बढी रहेको देखिएको छ। त्यस्तै भंगेरीथान शिवघाटमा पर्यटकहरूले एकल प्रयोगमा आउने फोहोरहरू बिस्कुट, चाउचाउ, चिप्सका खोलहरू जथाभाबी फालिएको भेटिएको उनले बताइन् । त्यहाँ मादक पदार्थ सेवन गर्नेहरूले सिसाको बोतल र सिरिन्जहरू फ्याँक्ने गरेको देखिएको छ ।
तीर्थस्थल घाट क्षेत्र, पर्यटकीय र नदी किनारमा रङ्गअनुसार छुट्टिने फोहोर संकलन डस्विन अनिवार्य रुपमा राख्नुपर्ने अवस्था देखिएको सुवेदीले बताइन् । ‘ढल र मलमूत्र नदीमा मिसाउने कार्यलाई तुरुन्त रोक्न नीति निर्माण गरी कडाइका साथ कार्यान्वयन व्यवस्थापन गर्नुपर्ने, नदीमा फोहोर डम्प गर्ने कार्य पूर्ण रुपमा बन्द गरी सुरक्षित र उपयुक्त स्थानमा फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ,’–उनले भनिन् ।
चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्र्व)का स्थानीय तहले नारायणी किनारमा फोहोर व्यवस्थापन गर्दै आएका छन् । जसका कारण नदीको अवस्था बिग्रँदै गएको सहमति नेपालका परियोजना संयोजक खेमराज खनालले जानकारी दिए । नदी स्वस्थ राख्नका लागि स्थानीय तहहरूले नीति बनाएर नै लाग्नुपर्ने उनको भनाई छ । स्थानीय सरकार, नागरिक समाज, धार्मिक नेतृत्व, पर्यटक, व्यवसायी, विद्यार्थी र आम जनताहरू नदीको भविष्यलाई बचाउन लाग्नुपर्ने उनले बताए ।
नदीसँगै हामी अभियानमा एकल महिला पैरवी मञ्च, लायन्स क्लब अफ गैँडाकोट, एसडिआरसी गैँडाकोट, विजय एफ.एम, हेचर नेपाल, सिद्धान्त कलेज, देवघाट क्षेत्र विकास समिति, सफा ऊर्जा लगायतको सङ्घसंस्थाहरू आबद्ध रहेका छन्।
Discussion about this post