काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु नहुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै नेता डा. कोइरालाले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाइनु नहुने बताउनु भयो ।
नेता डा. कोइरालाले सर्वोच्च अदालतले दिएको निर्देशक, मानव अधिकार आयोगको निर्देशनलाई मध्यनजर राखेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले पीडितलाई मर्का पर्नेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून बनाइनु नहुने बताउनु भयो ।नेता कोइरालाले राजनीतिक मुद्दा बनाएर पास गर्दा संसदबाट पास भएपनि अन्तर्राष्ट्रिय स्तरमा देशको छवि नरहने भन्दै संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायलाई कुनै राजनीतिक लेनदेनको मुद्दा नबनाइयोस् । यो अत्यन्त गम्भीर विषय छ, यसलाई मुद्दा बनाउनु हुँदैन । यो विषयमा सर्वोच्च अदालतले सिधा निर्देशन दिएको छ । मानव अधिकार आयोगले पनि दिएको छ । मानवताको कुराहरुलाई एसेप्ट गरेर पीडितलाई मर्का पर्नेगरी कुनैपनि हालतमा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई कानून बनाउँदैछौँ, पीडित पक्ष हुनुपर्छ । यसमा कुनै पनि किसिमको कमी कमजोर गयौँ भने यहाँ बनाउँला, संसदले पास गर्ला तर अन्तर्राष्ट्रिय समुदायले स्वीकारेन भने हामी कतैको हुँदैनौँ । त्यसैले यो संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्छ ।’ नेता कोइरालाले बताउनुभयो । नेता कोइरालाले लोकतन्त्र नेताहरुको लागि मात्रै आएको भन्दै अझैपनि जनताको, नागरिकको लागि लोकतन्त्र नआएको बताउनु भयो ।
Discussion about this post