काठमाडौँ । देशभरका भन्सार कार्यालयको सुरक्षा सशस्त्र प्रहरीले गरिरहेको छ । अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी पनि सशस्त्र प्रहरीलाई छ । तर स्थापना कालदेखिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा भने सशस्त्र प्रहरी खटिन सकेको थिएन ।नेपाल प्रहरीले विमानस्थलको सुरक्षा कमाण्ड सम्हाल्दै आएको छ । सशस्त्र प्रहरी सादा पोशाकमा बाहेक त्यहाँ प्रत्यक्ष रुपमा खटिन सकेको थिएन । विगत दुई साताअघिबाट सशस्त्र प्रहरीले विमानस्थल भन्सार सुरक्षाको कमाण्ड सम्हालेको छ । अहिले यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
त्यहीँनेर नेपाल प्रहरी र सशस्त्रबीच कार्यक्षेत्र विवाद शुरु भएको छ । अन्तर्राष्ट्रिय सीमा सुरक्षाको कार्यदेश अनुसार विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी खटाउन कार्यक्षेत्र स्पष्ट नतोकिँदा विवाद उत्पन्न भएको हो । निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएकोमा विमानस्थल भन्सार कार्यालयले सशस्त्र प्रहरीलाई यात्रु आगमन कक्षको सुरक्षा जाँचका लागि खटाएको थियो ।
निजी सुरक्षाकर्मीहरुले जाँच गर्दै आएको क्षेत्रमा नेपाल प्रहरीले भूमिका खोजेको तर अहिले सशस्त्र प्रहरीले त्यही भूमिका पाएपछि असन्तुष्ट भएको हो ।सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा ३० सशस्त्र प्रहरी परिचालन गरिएको जनाएको छ ।
सुरक्षा जाँच थप प्रभावकारी बनाउन भन्सार प्रमुखकै कमान्ड हुने गरी सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि नेपाल प्रहरीले यसअघि नै सो भूमिका खोजेको थियो ।गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण भट्टराईले दुवै निकायले समन्वयमै कार्य गर्ने बताए ।‘विवाद भन्ने हुँदैन, समन्वयमै काम हुन्छ, सुरक्षा अवस्था झन् चुस्तदुरुस्त हुन्छ’, भट्टराईले भने । उता सशस्त्र प्रहरीले पनि कार्यक्षेत्र विवाद भएको विषयलाई अस्वीकार गर्दै आएको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरीलाई सरकारले दिएको म्याण्डेटअनुसार परिचालन भएको बताए ।अहिले भन्सारमा भन्सार प्रशासन, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले काम गरिरहेका छन् ।नेपाल प्रहरीले यात्रु तथा सामान जाँचको जिम्मेवारी दिनुपर्ने माग गरिरहेको थियो तर सरकारले सशस्त्रलाई त्यो जिम्मेवारी दिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको हो ।
नेपाल प्रहरी प्रत्यक्ष नभए पनि कुनै न कुनै रूपमा विमानस्थलमा परिचालन भइरहेकाले सशस्त्र प्रहरीलाई जाँचको जिम्मा दिँदा ‘चेक एन्ड ब्यालेन्स’ पनि हुने भन्सारका कर्मचारीको दाबी छ ।विमानस्थलबाट करिब ६१ किलो सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी परिचालन गर्न खोजेका थिए । उनले त्यस क्रममा भन्सार कार्यालयको पनि निरीक्षण गरेका थिए ।
अर्थ मन्त्रालयले आफ्नो कार्यक्षेत्र भन्न थालेपछि श्रेष्ठ पछि हटेका हुन् । अहिले भन्सार विभागले सशस्त्रलाई परिचालन गर्न चाहेपछि प्रहरी निरीक्षकको कमाण्डमा खटिएको हो ।सरकारले दिएको अन्तर्राष्ट्रिय सीमा सुरक्षाको कार्यदेश अनुसार सशस्त्र प्रहरी परिचालन भएकाले यसमा नेपाल प्रहरीसँग विवाद हुनपर्ने कुनै कार्य नभएको जनाउँदै आएको छ ।
विमानस्थल सुरक्षा गर्न नेपाल प्रहरी डीआईजी नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय नै छ ।विमानस्थल सुरक्षामा खटिएका प्रहरीका उच्च अधिकारीहरु बेला बखत विवादमा मात्र आएका छैनन् उनीहरु कारबाहीको भागिदारसमेत बनेको अवस्थामा सशस्त्र प्रहरीलाई पनि विमानस्थल पठाइएको हो ।
सशस्त्र प्रहरीले जाँच गर्न थालेपछि कर्मचारी र तस्करले बनाइरहेको जालोमा समस्या परेकाले पनि प्रहरीले विरोध गरेको स्रोतले जनाएको छ ।गृहमन्त्रीले नै यात्रु आगमन कक्षमा प्रहरी खटाउन लबिङ गरेपछि भन्सार जाँचपासमा भूमिका पाउने अपेक्षा नेपाल प्रहरीको थियो । त्यसका लागि उसले लबिङ पनि गरिरहेको थियो । भन्सार प्रशासनका कर्मचारी भने नेपाल प्रहरीलाई त्यो जिम्मेवारी दिन तयार भएनन् । त्यसो हुँदा आगमन कक्षको सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिने गरी निर्णय गराएपछि नेपाल प्रहरी सन्तुष्ट बन्न सकेको छैन ।































Discussion about this post