Nirvik Khabar

मध्यपहाडी लोकमार्गलाई द्रुतमार्ग बनाउनु पर्ने एमालेको निष्कर्ष, बिहीबार बृहत् छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १९ दिन लामो मध्यपहाडी संकल्प यात्रा गरेपछि मध्यपहाडी लोकमार्गलाई पाँच सय किलोमिटर छोट्याउने निष्कर्ष निकालेको छ । १९ दिने यात्राको प्रारम्भिक समीक्षाको क्रममा यसलाई करिब पाँच सय किलोमिटर छोट्याएर द्रुतमार्ग बनाउनु पर्ने निष्कर्ष निकालेको हो ।

एमालेले अभियानका क्रममा मध्यपहाडी लोकमार्ग निर्माणमा मुआब्जा र क्षतिपूर्तिका समस्या र झमेलाहरू पनि देखिएको भन्दै यसलाई कम्तीमा चार–पाँच सय किलोमिटर छोट्याएर पूर्व–पश्चिम जोड्ने द्रुतमार्गका रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

यद्यपि यो आधिकारिक रुपमा बाहिर ल्याइएको छैन । एमाले पदाधिकारीहरुले यो विषयमा आपसमा छलफल गरिरहेका छन् । ‘हामीले मध्यपहाडी लोकमार्गको अवस्थाका बारेमा प्रत्यक्ष रूपमा बुझ्ने, त्यहाँका जनताहरूको मूल्यांकन गर्ने प्रत्यक्ष अवसर प्राप्त गर्यौँ र धेरै ठाउँमा लोकमार्ग निर्माणका क्रममा अवरोध सिर्जना भएको देखियो र यसलाई कम्तीमा पाँच सय किलोमिटर कम गरेर द्रुतमार्ग बनाउनु पर्ने महसुस भएको छ’, एक पदाधिकारीले भने ।

एमालेले जनस्तरबाट आएका सुझावलाई पार्टीको मार्गदर्शन मानेर अघि बढ्ने जनाएको छ । जनताका सुझावले लोकतन्त्रको प्रभावकारिता र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा प्रभावकारी बनाउन भूमिका खेल्ने निष्कर्षसहित ती सुझाव समेटेर मार्गदर्शन–पत्र नै तयार पार्ने योजना बनाएको हो ।

‘चाँडै नै एउटा मार्गदर्शन पत्र तयार पार्नेछौँ’, एमाले महासचिव शंकर पोखरेलले भने । जनस्तरबाट आएका सबै मागलाई एकाध दिनमै लिपिबद्ध गर्ने तयारी गरेको पनि महासचिव पोखरेलले भने ।

त्यही मार्गदर्शनको आधारमा भविष्यको कार्ययोजनाका रूपमा पार्टीले अवलम्बन गर्ने नीति, योजनाका रूपमा सामेल गर्नका लागि छलफल गर्ने एमालेले जनाएको छ ।

भोलिका दिनमा लोकतन्त्रलाई कसरी प्रभावकारी बनाउने, समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई कसरी प्रभावकारी ढंगले पूरा गर्ने भन्ने सन्दर्भमा जनताका बीचबाट आएका सुझाव र मागपत्रले महत्वपूर्ण आधारका रूपमा काम गर्छन् र त्यसलाई मार्गदर्शनका रूपमा प्रयोग गर्ने सोच बनाएको एमालेका नेताहरुले जनाएका छन् ।

समृद्धिका लागि भन्दै एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म गरेको मध्यपहाडी संकल्प यात्रा आइतबार सकिएको छ । चीन र भारतको सीमाना रहेको त्रिदेशीय विन्दु चिवाभञ्ज्याङमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डोत्तोलन गरेर १९ दिने यात्रा समापन गरेपछि उनीसहित यात्रामा सहभागी नेताहरू आइतबार बेलुकी तमोर करिडोर हुँदै काठमाडौँ आइपुगेका छन् ।

अभियानको उद्घाटन अध्यक्ष ओलीले १४ मंसिरमा झुलाघाटमा गरेका थिए । चिवाभञ्ज्याङमा यात्रा समापन गर्दै ओलीले भने–देशको राजनीति अलपत्र भएर चल्न हुँदैन । सही बाटो र निकास लिनुपर्छ । राष्ट्र र देशको समय खेर फाल्न हुँदैन । आउँदा पिँढीको भविष्य अन्धकारमा धकेल्न हुँदैन भन्ने निष्कर्ष निस्किएको जनाएका थिए ।

देशलाई अन्धकारबाट जोगाउन यो यात्राले असाधारण भूमिका खेलेको उनको दाबी थियो । काठमाडौँ आएपछि उनी मौन रहेका छन् । बाहिर कुनै पनि कार्यक्रममा निस्केका छैनन् । यसकै लागि एमालेले बिहीबार काठमाडौँमा बृहत् छलफल कार्यक्रम गर्दैछ ।

चिवाभञ्ज्याङमा यात्रा समापनपछि अध्यक्ष ओलीले विविधतालाई एकतामा बदल्ने र समस्या समाधानमा पुर्याउने यात्रा औपचारिक रूपमा पूरा भए पनि त्यस्तो यात्रा जारी रहने सन्देश दिएका थिए ।

‘महाकाली नदी किनारको झुलाघाटमा झन्डा फहराएर शुरु भएको हाम्रो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा झन्डा फहराएर पूरा भएको छ । यो यात्रा देशको माया गर्नेहरूलाई जोड्ने यात्रा हो, हाम्रा विविधतालाई एकतामा बदल्ने र हाम्रा समस्यालाई समाधानमा पुर्याउने यात्रा हो । औपचारिक रूपमा पूरा भए पनि यो यात्रा जारी रहन्छ,’ सामाजिक सञ्जालमा ओलीले भनेका छन् ।

अभियानका क्रममा २२ ठूला जनसभा, विभिन्न जिल्लामा सर्वदलीय तथा सर्वपक्षीय दुई दर्जन छलफल र अन्तरक्रिया तथा सयौँ स्थानमा स–साना समूहमा जनतासँग प्रत्यक्ष भेटघाट भएको थियो ।यात्राका क्रममा कम्तीमा ५० लाखभन्दा बढी जनसमुदायमा सन्देश सम्प्रेषित भएको एमालेको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस