Skip to main content

Nirvik Khabar

साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि

Advertisements
Single Page Long - 2

भादगाउँ- भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाएका छन्  । उनले दुवै हत्केलामा बुट्टे दार मेहेन्दी पनि लगाएकी छिन् । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाएकी छिन् भने हत्केला र खुट्टा बुट्टे दार मेहेन्दीले भरिएको छ ।

साउन महिनामा विवाहित नारीले हरियो, पहेँलो र रातो रङका पहिरन हरियो चुरा, हातमा मेहेन्दी लगाई सोमबार शिवजीको व्रत बसे श्रीमान्को आयु लामो हुने र आफू पनि सौभाग्यवती हुने भन्ने विश्वासले साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको फेसन अहिले स्थानीय नेवार समुदायका महिलाहरूमा समेत फैलिएको छ । यससँगै शृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ ।

हिन्दु परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिको दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन भने फैलिएको छ ।

साथि सँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरूले पनि हरियो, पहेँलो चुरा र हत्केलामा मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका रेनु मानन्धरले बताइन्। त्यसैले अन्य महिनामा भन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेब्बर बढ्ने गरेको उहाँले बताउनुभयो । “अहिले त झन् फेन्सी डिजाइनको रङ्गिन चुरा र पोते आएको छ, राख्न नपाउँदै बिक्री भइहाल्छ”, उनले भनिन्।

सबै देवीदेवतालाई मन पर्ने महिनाका रूपमा साउन महिनालाई लिने भएर महिलाहरूले साउन महिनाभरि हातमा हरियो चुरा र मेहेन्दी लगाउने श्रृङगार कस्मेटिक पसलकी राधा श्रेष्ठले बताइन्। “साउन महिना प्राकृतिक रूपमा हरियो महिना हो । जता गए नि हरियाली नै हरियाली देखिन्छ । त्यसैकारण साउनमा हामी महिलाहरू पनि प्रकृतिसँग जोडिएको हिस्साका रूपमा हरियो चुरा लगाउने परम्परा बसालिएको हो”, उनले भनिन् , “साउन महिना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । हरियो रङ प्रेम र वातावरणको प्रतीक मानिन्छ ।” साउनमा विशेष रूपमा मनाउने सोमबार व्रत बस्ने गरेकाले पनि रङ्गिन पहिरनसँगै बजारमा हरियो चुरा, मेहेन्दी र पोतेको व्यापार बढेको उनले बताइन्।

पछिल्लो समय साउन महिनामा विवाहित होस् या अविवाहित महिला, सिँगार पटार गरी हातमा हरियो चुरा हत्केलामा र खुट्टामा मेहेन्दीले सजिएर हिँड्नेहरूको कमी छैन । यही कारणले पनि कस्मेटिक पसलहरूमा व्यापार व्यवसाय वृद्धि भएको देखिन्छ ।

भक्तपुर वासी श्रृङगार कस्मेटिक पसलकी राधाले साउन महिनामा अरू महिनाभन्दा दोब्बर तेब्बरै नै व्यापार हुने बताइन्। “यो महिना महिलाहरूले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याईं नै गर्दैनन्, जति भन्यो त्यति नै तिरेर सामान लान्छन् । अझ फेन्सी प्रकारको नयाँ के समान आएको छ, त्यसको माग गर्छन्”, उनले भनिन् ।

उनका अनुसार अरुबेला दैनिक दैनिक रु आठदेखि १५ हजारको शृङ्गारका सामग्री बेच्ने कस्मेटिक पसलले साउनमा मेहेन्दी, पोते र चुरा मात्र दैनिक २५ देखि ५० हजारसम्म व्यापार गर्दछन् ।

साउन महिनाका लागि असारको पहिलो हप्तादेखि नै सामान सङ्कलन गर्नुपर्ने राधाले बताइन्। “असार सुरु भएसँगै साउनका लागि सामानको जोहो गर्न सके राम्रै व्यापारसँगै कमाइ पनि हुन्छ”, उनले भनिन्। साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने एउटा परम्परा जस्तै बनिसकेको छ । हिन्दु संस्कार मान्ने खस आर्य समुदायका महिलाले मात्र होइन अन्य जातजाति, समूहका महिलासमेत यस परम्परामा जोडिएका छन् । हिन्दु धर्मावलम्बीहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा भएकोले पनि साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइने संस्कृतिकर्मीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस