भरतपुर । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवनबाट बाहिरिने यात्रुको संख्या बढेको छ । चितवनलाई ७८ औँ जिल्लाको रुपमा चिनिन्छ । गोर्खा, लमजुङ, तनहुँ, धादिङ घर भएका अस्थायी रुपमा चितवन बसेका मतदाताहरु निर्वाचनको लागि आफ्नो घर फर्केका यातायात व्यवसायीहरु बताउँछन् ।अस्थायीरुपमा भरतपुर बस्दै आएकी गोर्खाकी कोपिला भट्ट निर्वाचनको लागि गोर्खा घर फर्केकी छन् ।उनले भनिन्, ‘गोर्खाका धेरै मानिसहरु चितवनमा छन्, उनीहरु यतिबेला मतदान गर्नको लागि घर फर्केका छन् ।’ गोर्खाका उमेदवारहरु मत माग्नको लागि चितवनसम्म आएका थिए ।
ट्राफिक कार्यालय भरतपुरले चितवनबाट भोट हाल्न बाहिरिने मानिसहरुको तथ्यांक निकाल्न नसकिएको जनाएको छ, तर पनि चितवनबाट छुट्ने बसहरुमा यात्रुहरुको भीडभाड बाक्लो देखिएको छ ।सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधन बाहिरिनेक्रम पनि उल्लेख्य रूपमा बढेको देखिन्छ ।बाहिरिने यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको ट्राफिक कार्यालय चितवनले जनाएको छ । यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउने काम भइरहेको ट्राफिक कार्यालय भरतपुरका प्रमुख अनिल थापा बताउँछन् ।
‘सडक सुनसान भइसकेको छ, केही दिनदेखि नै सवारीसाधनको चाप बढी बढी थियो, व्यवस्थापनका लागि नजिकका प्रहरी इकाइसँग समन्वय गरी निगरानी बढाइएकोे छ’ यनले भने, ‘धेरै जनशक्ति निर्वाचनमा खटिन परेको छ ।’यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ । साथै, लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था जाँच गर्न र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।

































Discussion about this post