भैरहवा- भुमाफिया गिरोह र मालपोत कार्यालयको मिलोमतोमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ ।
मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य नेतृत्वका कर्मचारीसहितको टीम र भुमाफिया गिरोहको मिलोमतोमा विमानस्थलको रन–वे क्षेत्र नै व्यक्तिको नाममा दर्ता गरेको तथ्य बाहिरिएको छ ।
यही फाटवारीको अन्तिम महलमा हदबन्दी भन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिगाह जग्गा कालिजी (भगवान) लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ ।

३० बिगाहमध्ये १३ बिगाह १३ कठ्ठा ८ धुर मोहीमा परेको छ । त्यसमध्ये १० बिगाह ६ कठ्ठा १९ धुर पर्वतराज कान्त मिश्राको नाममा गएको देखिन्छ । त्यसमध्ये ६ बिगाह १ कठ्ठा ६ धुर जग्गा फिल्डबुकमा खाली रहेको छ । फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिगाह १७ कठ्ठा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब शुब्बा अजित साहनीले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराएका हुन् ।
मालपोत कार्यालयबाट पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरेको जग्गाको मुअब्जाको लागि गौतमबुद्ध विमानस्थल सुढृढीकरण कार्य आयोजना कार्यान्वयन ईकाईमा निवेदन परेपछि जग्गाको विवादसहितको रहस्य बाहिर आएको हो ।
मालपोत कार्यालयले पर्वतराज कान्त मिश्राको नाममा दर्ताका गरेको जग्गाको मुअब्जाका लागि निवेदन परेको र यस विषयमा स्थानीयदेखि अन्य सरकारी कार्यालयमा समेत फाइल पुगेकाले आफूहरु कानूनी परामर्शमा रहेको आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले जानकारी दिए । उनले उक्त जग्गाको मुआब्जाका लागि निवदेन आए लगत्तै स्थानीय व्यक्तिहरुले उक्त जग्गा कालीजीलाई दान गरेकाले व्यक्तिलाई मुआब्जाको रकम उपलब्ध नराउन भन्दै डेलिगेशन आएकाले सरोकारवाल निकायसँग छलफल चलिरहेको अधिकारीको भनाइ छ ।

मालपोत कार्यालयले पर्वतराज कान्तको नाममा दर्ता गराएको उक्त जग्गा जग्गाधनी सुर्जा मिश्राईनले कालीजी (भगवान) लाई दान गर्ने भने अनुरुप व्यक्तिको हुनै नसक्ने स्थानीको दावी छ ।
तर, अहिले त्यही कालीजीलाई दान गरिएको जग्गालाई सिद्धार्थनगर नगरपालिका–१० निवासी पर्वतराज कान्त मिश्राले छुट कित्ता भन्दै मालपोत कार्यालय रुपन्देहीमा निवेदन दिएका थिए । उक्त जग्गालाई भुमाफिया गिरोह र मालपोत कार्यालयलाई आफ्नो पक्षमा पारी आफ्नो नाममा दर्ता गराउन मिश्राले ठुलो संघर्ष गरेको देखिन्छ । मिश्राले ३० बिगाह १४ कठ्ठा १४ धुर जग्गामध्ये कालिजीलाई दान गरिएको ४ बिगाह १७ कठ्ठा जग्गालाई मालपोत कार्यालयले सरोकारवाला पक्षको राय सुझाव विनै व्यत्तिको नाममा दर्ता गरेको पाइएको छ ।
मालपोत कार्यालयले रुपन्देहीले भुजौली ९ (ख) को कित्ता नम्बर ७, ३२, ६७, ६८, ९२, ९४ र ९ (क) को कित्ता नम्बर २९ लाई पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरिहिएको छ । मिश्राको नाममा रहेका ४ बिगाह १७ कठ्ठा बाहेकको अन्य जग्गा विभिन्न समयमा विक्रीवितरण गरिएको छ ।

सुर्जा मिश्राईनको २०२५ साल माघ १८ गते मृत्यु भएको र उनी निसन्तान भएका कारण उनको नजिकको हकदार को हो भन्नेमा लामो समयसम्म विवाद रहेको थियो । विवाद लम्बिदै गएपछि सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो । २०३६ साल जेठ १८ मा सर्वोच्चको फैसाला अनुसार नजिकको हकदारको रुपमा रमाकान्त मिश्रालाई तोकिएको थियो । जग्गा आफ्नो नाममा पार्ने पर्वतराज कान्त मिश्रा रमाकान्तका नाती हुन् ।
मिश्रा लामो समयदेखि भारतको गोरखपुरमा बस्दै आएका छन् । उनी भैरहवा आउँदा बस्ने आफ्नो घर समेत छैन् । उनलाई भैरहवामा सहजै भेट्न सकिदैन् । यस विषयमा बुझ्नका लागि उनलाई खोज्दा उनलाई भेट्न नसकिएको र स्थानीयलाई सोध्दा उनी भारतको गोरखपुर बस्ने गरेको बताएका छन् ।
मालपोतले पर्वतराजको नाममा दर्ता गराएको उक्त कित्ताको जग्गाको विषयमा लामो समयदेखि अदालतमा मुद्दा रहेको थियो । अदालतले यस विषयमा जग्गा पर्वतराज कान्त मिश्राको नाममा दर्ता गर्नुपर्ने धारणासहितको आदेश दिएको छैन ।
उच्च अदालत तुल्सीपुर, बुटवल ईजलासका न्यायधीश चन्द्र बहादुर सारु र किरण पौडेलको संयुक्त ईजलासले परमादेश दिदै रिट निवेदक पर्वतराज कान्त मिश्राले मिति २०७८ साल ९ महिना २५ गते दिएको निवेदनउपर कुनै निर्णय गरेको नदेखिदा जे जो बुझ्नुपर्ने हो बुझी आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षी भूमिसुधार तथा मालपोत कार्यालय रुपन्देहीको नाममा परमादेश जारी गरिएको छ ।
तर, मालपोत कार्यालय रुपन्देहीका प्रमुख कुमार आचार्यले अदालतको परामादेशलाई टेकेर आफुले उक्त कित्ताको जग्गा पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरिएको बताए । उनले विवादित जग्गाको विषयमा जिल्ला प्रशाशन कार्यालयमा शाखा अधिकृतसँग मौखिक रुपमा सोधेको र अन्यसँग सोध्न नपर्ने भएकाले जग्गाको विषयमा निर्णय गरिएको बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थलभित्रको जग्गाको विषयमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान सुरु गरेको बताए । प्रजिअ अर्यालकाअनुसार उक्त जग्गाको विषयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुढृढीकरण कार्य आयोजना कार्यान्वयन ईकाई र स्थानीयबासीले विशेष चासो लिएका कारण मालपोत कार्यालय, नापी कार्यालय र विमानस्थल आयोजनाका प्रमुखसँग जग्गाको विषयमा फाईल मगाएर अध्ययन सुरु गरिएको छ ।
खबरपात्रो डटकम
Discussion about this post