काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका हुन् ।
कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपनि नेपालको अर्थतन्त्र झन ओरालो लाग्नु चिन्ताको विषय भएको उनले बताए । उनले अर्थतन्त्रमा देखिएको असर व्यवसायीहरुमाथि देखिँदा पनि व्यवसायीहरुको समस्यामा सरकारले कुनै चासो नदेखिएको जिकिर गरे ।
मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ धकेल्ने गरी बजेट ल्याउँदा केही व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफुलाई आश्चर्य लागेको उनले बताए ।
अध्यक्ष ओलीले मुलुकमा धेरै समस्या आउदा पनि सरकार विभिन्न प्रकरण चलाउदै कमिशनको चक्करमा लागेको आरोप लगाए ।ओलीले व्यवसायीहरुको समस्याका बारेमा आफूले राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।
Discussion about this post