काठमाडौं,साउन २-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन्। ई–सिगरेट (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा जोडिएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएका थिए। सिआइबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरा र उनका छोरा राहुल महरा सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ। सिआइबी स्रोतका अनुसार महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर त्यहाँका सामान आफ्नो व्यापारिक साथीको भएको र त्यसलाई लिलामीमा राखिदिन आग्रह गरेका थिए। प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर) बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो। प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उनीहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ।
महराका छोरा राहुलले यो विषयमा सुरुमै भन्सार कार्यालयमा फोनमार्फत कुराकानी भएको स्विकारेका छन्। उनले चिनेजानेको मानिस भएका कारण फोन गरेको तर तिनको धन्दा के थियो भन्ने बारेमा आफूलाई जानकारी नभएको पनि बताए। ‘सुरुमा सामानबारे जानकारी लिएको हो, छुटाउन दबाब दिएको होइन। अनुसन्धान त निकै पछि भएको हो।
त्यतिबेला त्यसभित्र के थियो भन्ने जानकारी थिएन। उसको धन्दाबारे हामीलाई थाहा हुने कुरा पनि भएन,’राहुल महराले भने। पूर्वसभामुख महरा यसअघि पनि चिनियाँ व्यापारीसँग ५० करोड मागेको विषयमा विवादित बनेका थिए। २०६७ भदौ १८ गते परिचय नखुलेका एक चिनियाँ व्यापारीसँग उनले ५० करोड मागेको एउटा अडियो टेप सार्वजनिक भएको थियो। अहिले पनि चिनियाँ सुन तस्करले ल्याएको सुन छुटाउन भूमिका खेलेको भनी विवादित बनेका छन्। नागरिक दैनिकमा खबर छ ।
Discussion about this post