चितवन, २० फागुन
चितवन मुटु अस्पतालको क्याथल्याब सेवा आजबाट औपचारिक शुभारम्भ गरिएको छ । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजका अध्यक्ष एवं मुटुरोग बिशेषज्ञ डा. मणिराज गौतमले एक समारोहका बीच उक्त क्याथल्याबको उद्घाटन गर्नुभएको हो ।
ल्यावको उद्घाटन पछि बोल्नु हुँदै डा.गौतमले मुटु रोगको उपचारका लागि यो क्याथल्याब महत्वपूर्ण रहेको बताउनुभयो । मुटुको उपचारका क्रममा बन्द भएका रगतका नशा खोल्ने, भल्व खोल्ने, राख्न लगायतका मुटु सम्बन्धी उपचारका कामहरु क्याथल्याबमा हुने उहाँको भनाई छ ।
कार्यक्रममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले स्वास्थ्य क्षेत्रमा नयाँ प्रबिधिको उपयोग प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा अस्पतालका सल्लाहाकार डा. ईश्वरी लौडारी, अस्पतालका प्रवन्ध निर्देशक प्रभात शर्मा लगायतले बोल्नुभएको थियो ।
अन्य अस्पतालको तुलनामा यहाँ भएको क्याथल्याब अत्याधुनिक प्रबिधिको रहेको अस्पतालका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस अस्पतालले चितवन र छिमेकी जिल्लाका मुटुका बिरामीहरुलाई सेवा दिंदै आएको बताउनुभयो । वि. सं २०७६ फागुनमा सेवा सुुरु गरेको यस अस्पतालमा अहिले बहिरंग सेवादेखि शल्यक्रियासम्मका सेवा सञ्चालन हुँदै आएका छन् । अस्पताल २५ शैय्याको रहेको छ ।
चितवन मुटु अस्पतालमा फ्लिप्सको क्याथल्याब जडान गरिएको हो । यो नेपालमा भएका क्याथल्याब मध्ये सबैभन्दा पछिल्लो अत्याधुनिक प्रविधि भएको अस्पतालले जनाएको छ । फिलिप्स अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त कम्पनी हो । यसका उत्पादन नेपालमा धेरै प्रयोग गरिएका छन् । यो क्याथल्याबले चितवन र यस वरपरका मुटुका बिरामीको उपचारमा कोशिढुंगा सावित हुने अस्पतालले जनाएको छ । क्याथल्याबमा मुख्य गरी मुटु रोग र नसा सम्बन्धी रोगको पहिचान र उपचारमा यो निकै उपयोगी हुन्छ । यसले शतप्रतिशत नतिजा दिन्छ ।

































Discussion about this post