काठमाडौं । सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका रवि लामिछानेको पद खारेज गरिदिएपछि निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ आज सांसद दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिन पुगेका छन् ।आयोगमा बिहान साढे ११ बजे सांसद दाबी गर्दै निवेदन दिएका हुन् । उनले आफूलाई विजयी घोषित गर्नुपर्ने माग गरेका छन् । श्रेष्ठले दिउँसो २ बजे ललितपुरस्थित हिमालय होटलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रमसमेत राखेका छन् ।
सर्वोच्च अदालतको फैसला पछि रवि लामिछानेको सांसद पदसँगै खारेज गरेपछि उपप्रधान एवं गृहमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमेको थियो ।गत आइतबार नागरिकता पुनः प्राप्तिपछि भने उनले रास्वपाको सभापति पाएका थिए । चितवन २ मा उपनिर्वाचन गनुपर्ने बताइरहेका बेला उमेश श्रेष्ठको निवेदनलाई निर्वाचन आयोगले कसरी हेर्छ भन्ने महत्वपूर्ण छ ।
मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट रविले ४९ हजार ३०० मत पाउँदा उपविजेता बनेका श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।त्यस्तै एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए । राप्रपाका रविन अधिकारीले ९५५ मत ल्याएका थिए ।रवि अनधिकृत ठहरिएपछि कांग्रेसका उमेश श्रेष्ठले आफू स्वतः विजेता घोषित हुन पाउनु पर्ने माग गरिरहेका छन् ।
यसअघि रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीका लागि माग आयोगमा परेको भए पनि आयोगले भने रविलाई बचाएको थियो ।आयोगले त्यति नै बेला नागरिकता विवादमा कारबाही गरेको भए अहिले यो राजनीतिक अस्थिरता मुलुकले खेप्न पर्ने थिएन ।
उनीविरुद्ध मंसिर ४ अघि नै उम्मेदवारी खारेजीको उजुरी परेको थियो । राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए ।यसमा भने आयोगले कुनै कानूनी प्रक्रिया नै अगाडि बढाएन । अहिले आएर सर्वोच्च अदालतले रविको विपक्षमा फैसला गरेपछि निर्वाचन आयोग पनि नैतिक दबाबमा परेको छ ।
Discussion about this post