चितवनको गौरवको रुपमा दश दिनसम्म आयोजना हुन लागेको १४ औँ संस्करणको चितवन महोत्सवको उदघाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्नेभएका छन् । महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो ।
पुस २५ देखि माघ ४ गतेसम्म हुने आयोजनामा करिब ४५० स्टल राखिने आयोजकले जनाएको छ । महोत्सवले यहाँको व्यापार व्यवसाय तथा संस्कृति प्रवर्धनमा सहयोग गर्ने बुझाई संघको रहेको छ । संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको पहिचान, यहाँको बहुआयामिक विविधता, पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य चितवन हो भन्ने महोत्सवले सन्देश दिने बताए ।
महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रवर्धनका गतिविधि सञ्चालन हुने श्रेष्ठले जानकारी दिए । यस वर्षको महोत्सवमा सात वटा विशेष स्टल, डोम, र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४५० वटा स्टलहरु रहने श्रेष्ठको भनाइ छ ।
महोत्सवमा राखिने सम्पूर्ण स्टलहरुको बीमा गरिएको श्रेष्ठले बताए । महोत्सवमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरुको भेषभूषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपजको प्रदर्शनी गरिने पनि अध्यक्ष श्रेष्ठले बताए ।
चितवन महोत्सव अन्तर्गत परम्परागत खानाको प्रवर्धन गर्ने उद्देश्यले पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबलको आयोजना पनि गरिने अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै पुस २९ देखि माघ ३ गतेसम्म कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रियस्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिने श्रेष्ठको भनाइ छ ।
महोत्सवमा फन पार्क सञ्चालन गरिने भन्दै श्रेष्ठले महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्येनजर गर्दै महोत्सव अवधीभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरु हुने जानकारी दिए ।
महोत्सवमा मौरी र तोरीलाई प्रवर्धन गर्ने उद्देश्यले मौरीको प्रतीमासहित तोरीबारीको निर्माण गरी यहाँका कृषकलाई कृषि कर्मतर्फ आकर्षित गर्न लागेको श्रेष्ठले बताए । चितवन महोत्सव २०७९ मा कलात्मक प्रवेशद्वारका साथै कलात्मक आकृतिहरु निर्माण गरिने उनको भनाइ छ ।
महोत्सव परिसरमा फ्रि वाइफाइको व्यवस्था गरिनुका साथै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिलालाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक सहित करिब पाँच लाखले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले विश्वास व्यक्त गरेको छ । महोत्सव अवधिभर करिब रु २५ करोडको कारोबार हुने अनुमान संघको छ ।
Discussion about this post