विनोद अधिकारी
चितवन, १९ पुस । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुर भ्रमण वर्ष २०८०’लाई सफल बनाउन आग्रह गरेकी छिन् । होटल व्यवसायी महासंघको १० औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रमुख दाहालले यस्तो अनुरोध गरेकी हुन् । जिल्लामा पर्यटकहरुको संख्या बढ्दै गएको बताउँदै उनले भरतपुरको विकासमा पर्यटन, उद्योग र होटल व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन विकासमा महानगरले नयाँ नीति र कार्यक्रम तय गरेको बताइन् । देशैभरीको भौतिक र पर्यटकीय विकासमा चितवन जिल्ला अघि बढेको दाबी गर्दै उनले नारायणी नदीलाई व्यवस्थित गर्दै होटल व्यवसायी र महानगरबीच सम्झौता गरेर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताइन् ।
सञ्चालनमा रहेका ३ वटा र निर्माणधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भरतपुरबाट नजिकको दुरीमा पर्ने भएकाले पर्यटकलाई चितवनमा घुमाउन सके होटल व्यवसायी र उद्योगलाई उचाइमा पु¥याउन सक्ने उनको भनाइ छ ।
फरक प्रसङ्गमा बोल्दै मेयर दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला महानगरले निर्माण गर्ने बताइन् । ‘जुन सोच र उद्देशका साथ शुरु भएको थियो, त्यो अनुरुप अगाडि बढ्न सकेन । त्यसमा हामी दुःखी छौं ।’ उनले भनिन् । रंगशालालाई महानगर र सरकारले जिम्मा लिएर खेल पर्यटकको संख्या वृद्धि गर्न सकिने उनको भनाइ छ ।

































Discussion about this post