गैँडाकोट – पिक्निकमा मदिरा सेवन गरी विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा गैँडाकोटमा ३ जना शिक्षक पक्राउ परेका छन् । गैँडाकोट ८ स्थित विजय आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक एवं व्यवस्थापन समितिका सदस्यहरु शनिबार चितवनको कंकाली सामुदायिक वन पिक्निक गएका थिए । पिक्निकमा शिक्षकहरुले मदिरा सेवन गरी दुर्व्यवहार गरेको विद्यार्थीको आरोपपछि शिक्षकलाई नियन्त्रणमा लिईएको हो । आइतबार सार्वजनिक विदा भएका कारण विद्यार्थीहरुले कुरा उठाएपनि कुनै सुनुवाई नभएको आरोप विद्यार्थीले लगाएका छन् ।
सोमबार विद्यालय परिसरमा विद्यार्थी एवं अभिभावकले नाराबाजी समेत गरेका थिए । त्यसलगत्तै पुगेको प्रहरीले शिक्षकहरुलाई नियन्त्रमा लिएको हो । पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, शिक्षकहरु मदन भट्टराई र कुमार सापकोटा रहेका छन् । उनिहरुलाई नियन्त्रणमा लिई घटनाका बारेमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद पराजुलीले विद्यार्थीहरुको उजुरीलाई मध्य नजर गरी सत्य तथ्य पत्ता लगाउन ९ सदस्यीय समिति गठन गरिएको बताउनुभयो । गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटा, पूर्व वडा सदस्य नरबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद पराजुली, वडा एवं टोल विकास संस्था र अभिभावकहरु गरी दुर्गा तामाङ्, हस्तबहादुर थापा, मनोज श्रेष्ठ, दिपक कुमाल, डोरप्रसाद श्रेष्ठ र लिला थापा रहेको समिति गठन गरिएको छ । समितिले अहिले छलफल गर्दैछ ।
शिक्षकहरु ५ देखी ८ कक्षाका करिब ४० जना विद्यार्थी लिएर गएका थिए । कलिला बालबालिका लगेको स्थानमा शिक्षकले मदिरा पिउनु गलत भएको अभिभावकले बताएका छन् ।
सार्वजनिक स्थलमा विद्यार्थीको अगाडी मदिरा पिउने शिक्षकले गल्ती नगरेको भन्न नसकिने अभिभावकले बताएका छन् । पिक्निक गएका महिला शिक्षकले पनि कुनै कदम नचाल्नु भनेको उनीहरु पनि दवावमा परेको हुन सक्ने समितिकै एक सदस्य लिला थापाको भनाई छ । विद्यालय व्यवस्थापन समितिका सदस्य यदुनाथ सिग्देल पनि वनभोज कार्यक्रममा गएका थिए । गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले अहिले पनि आफु घटनाका विषयमा छलफलमा रहेको बताउँदै अनुसन्धानका क्रममा दोषी पाइए शिक्षकलाई कारवाही गरिने बताउनुभयो । [Vijaya FM]
Discussion about this post