चितवन – चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुई दिनमा दुई वटा एक सिंगे गैडा मृत फेला परेको छ । बुधवार र बिहीबार समान एक-एक वटा गैंडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बुधवार निकुञ्जको अमलटारी सेक्टरको कुजौलि रेञ्जपोष्ट अन्तर्गत नारायणी नदी किनारस्थित कोर क्षेत्रमा भाले गैंडा मृत अवस्थामा भेटिएको थियो ।
बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले खाग नपलाएको ६ महिनाको उक्त गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए । उक्त गैंडाको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए ।
यस्तै बिहीबार बिहान ५ः५५ बजे निकुञ्जको अमलटारी सेक्टर लामिचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १५ वर्षे पोथी गैंडा मृत अवस्थामा फेला गरेको छ । उक्त गैंडाको खाग र खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
उनका अनुसार उक्त गैंडाको आपसमा जुधेर मृत्यु भएको हो । यससँगै चालू आर्थिक वर्षमा निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाँच वटा गैंडाको मृत्यु भएको छ । ती मध्ये तीन वटा गैंडाको प्राकृतिक कारण तथा बाघको आक्रमणबाट, एकको जुधेर र अर्को एकको करेन्ट लागेर मृत्यु भएको हो ।
Discussion about this post