Nirvik Khabar

ठेकेदार सम्पर्कविहीन, ठप्प भयो मध्यपहाडी लोकमार्गको काम

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ ।निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२-७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर पछि त्यस कम्पनीबाट निर्माण कम्पनीका श्रेष्ठले कालोपत्रे गर्ने जिम्मा लिए । तर, उनले अहिलेसम्म आधा काम पनि पूरा गर्न सकेका छैनन् ।

सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीय आजित भएका छन् । बागलुङवासीको लाइफलाइनका रूपमा रहेको लोकमार्गको ट्रयाक खुलेको २५ वर्ष भयो । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो । अहिले सडकको अवस्था बेहाल छ । सडकको धुलो र हिलोले गर्दा स्थानीय बसाइँसराइ गर्न बाध्य भएको स्थानीय हरिलाल कँडेलले बताए । उनले सडक छेउका घर हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको बताए । धुलोका कारण स्थानीयको उठीबास लागेको उनको भनाइ छ ।

‘बिहुँ सुन्तला पकेट क्षेत्र हो, यो सडकका कारण सुन्तला राम्रोसँग उत्पादन हुन पाएका छैनन्, अहिले पनि बोटमा फलेका फल सबै धुलोले ढाकिएका छन्, यस्तो सुन्तला बजार लगेर पनि बिक्री हुँदैनन् । किसान धेरै मर्कामा परेका छन्, सडकका छेउमा भएका घाँसपात पनि धुलैधुलो र हिलैहिलो हुँदे गर्दा पशु चौपायले पनि खाँदैनन् । यहाँका सयौँ स्थानीय घरबारी छोडेर अन्तै जान बाध्य भएका छन्, ‘उनले भने ।

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडक कालोपत्रे गर्ने आयोजना सुरु भएपछि धेरै पटक निर्माण कम्पनीले म्याद थप्यो तर काम भने गरेन । अहिले ठेकेदार भागे पछि लोकमार्गको काम ठप्प भएको छ । लोकमार्गको बागलुङ–अक्षते खण्डमा काम भए पनि अक्षते–घोडाबाँधे खण्डमा भने काम हुन सकेको छैन । उनले ठेकेरादलाई राज्यले कारबाही नगर्दा अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको बताए । कँडेलले अटेरी गर्ने ठेकेदारलाई कारबाही गरेर नयाँ सम्झौता गरी काम गरेको भए दुई वर्षअगाडि नै कालोपत्रे भइसक्ने बताउँछन् ।

काठेखोला गाउँपालिका–५ का पूर्वअध्यक्ष शिवप्रसाद कँडेलले एक महिनादेखि ठेकेदार हराउँदा लोकमार्गको काम ठप्प भएको बताउँछन् । उनले आफूहरूले पटक–पटक सडकको काम सक्न आग्रह गरे पनि बेलाबेलामा सम्पर्कविहीन हुने गरेको बताउँछन् । स्थानीयले धेरै पटक सडकमै धर्ना दिए पनि ठेकेदारले बेवास्ता गरेको उनको भनाइ छ ।

‘हामीहरूले सडक कालोपत्रेका लागि पटक–पटक प्रशासन र लोकमार्ग कार्यालय र ठेकेदारलाई आग्रह गर्‍यौँ, सडकको कारण सिङ्गो समुदायनै विस्थापित हुने अवस्था आयो । तर, कतैबाट पनि यसको सुनुवाइ हुन सकेन’, सथानीय कँडेलले भने, ‘ठेकेदार बेलाबेलामा आएर स्थानीयको आँखामा छारो हाल्ने काम गर्छ, अहिले १५-२० दिन भयो सम्पर्कविहीन बनेको छ, यसको अवस्था यस्तो विजोग छ ।’

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले लोकमार्ग वर्षौंदेखि स्थानीयको समस्या बनिरहेको बताए । उनले आफूहरू जनप्रतिनिधि भएर पालिकामा आएपछि ठेकेदार र प्रशासनलाई झकझकाउने काम गरिरहेको बताए । अध्यक्ष थापाले तल्लोभन्दा माथिल्लो खण्डमा काम निकै सुस्त गतिमा भएको भन्दै कामलाई चुस्त बनाउन दबब दिइराखेको बताए ।

मध्य पहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बागलुङमा पर्ने सबै खण्ड आगामी असार मसान्तसम्म सक्ने दाबी गर्छन् । उनले अब बागलुङमा १२ किलोमिटर सडक कालोपत्रे गर्न र केही स्थानमा मर्मतसम्भार गर्ने काम बाँकी रहेको भन्दै निर्माण कम्पनीलाई दबाब दिएको बताए । प्रमुख भण्डारीले ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयार भएको बेला सरकारले असार मसान्तसम्म म्याद थप गरी दिएको हुँदा प्रक्रिया अगाडि सार्न नसकेको बताए ।

लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जसमध्ये अब १२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । बाँकी १२ किलोमिटर सडक पनि आगामी असार मसान्तसम्म जसरी पनि सक्ने लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस