Nirvik Khabar

चितवनमा गठबन्धनविरुद्ध जुर्मुराउँदै कांग्रेसको विद्रोही समूह

निर्भीक खबर
निर्भीक खबर

चितवन- चितवनमा नेपाली कांग्रेसको विद्रोही समूहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी गरेको छ । चितवनको विद्रोही कांग्रेस समूहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनको प्रतिनिधिसभातर्फको ३ र प्रदेशसभाको ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने योजना बनाएको छ ।विद्रोही कांग्रेसका नेतृत्वकर्ता जगन्नाथ पौडेलका अनुसार आगामी निर्वाचनमा चितवनको प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी भएको छ ।

सो समूह निर्वाचन क्षेत्र चितवन–३ मा उम्मेदवारी दिन रणनीति निर्माणको तयारीमा जुटेको छ । आफ्नो संघर्ष सत्ता गठबन्धनविरुद्ध भएको भन्दै पौडेलले आगामी निर्वाचनमा चितवनको सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर कांग्रेस जोगाउने अभियानलाई जारी राख्ने बताए ।मुख्यतः चितवनको निर्वाचन क्षेत्र नम्बर–३ लाई केन्द्रमा राखेर सो समूहले चुनावी अभियान सुरु गर्ने र त्यसलाई विस्तार गर्दै कांग्रेस शुद्धीकरण गर्ने उनको भनाइ छ ।

गत स्थानीय तहको निवार्चनमा पनि कांग्रेसमा विद्रोह गरेर सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेको पौडेलले आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मलन गर्दै आगामी निर्वाचनमा पनि उम्मेदवार खडा गर्ने घोषणा गरिसकेका छन् ।विद्रोही समूहका नेतृत्वकर्ता पौडेल चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरुद्धमा चुनाव लड्ने तयारीमा जुटेका छन् । उनीसँगै कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा पनि प्रचण्डका विरुद्धमा सो समूहबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, शारीरिक रुपमा कमजोर भएका सापकोटाले आफूभन्दा बलियो उम्मेदवार पाएको खण्डमा सहयोग गर्न तयार रहेको बताउँदै आएका छन् ।

​चितवनको विद्रोही समूहले पौडेल नै प्रचण्डविरुद्ध लड्ने बलियो उम्मेदवार रहेको भन्दै उनैलाई अघि बढाउने तयारी गरिरहेको स्रोत बताउँछ । गत स्थानीय तहको निर्वाचनमा प्रचण्ड पुत्री रेणु दाहालविरुद्ध भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरुको निर्देशन विपरीत उनी प्रतिस्पर्धामा उत्रिएका थिए । सो निर्वाचनमा १४ हजार ७२८ मत पाएर उनी पराजित भएका थिए ।

पौडेलका अनुसार चितवनमा कांग्रेसको बलियो उपस्थिति रहेको बखत पनि गठबन्धनको नाममा भइरहेको कांग्रेस विरोधी खेललाई विफल बनाउन विद्रोही समूहले चुनावी मैदानमा जाने तयारी गरेको हो । सो समूहले चितवनमा क्रियाशील रहेका अन्य दलहरुसँगको एलाइन्समा चुनाव लड्ने तयारी गरिरहेको उनको भनाइ छ ।सो समूहले उपयुक्त ठानेको खण्डमा चितवन–३ मा चुनाव लड्न एमालेसँग गठबन्धन गर्न सक्ने सम्भावना रहेको र सोही अनुसार छलफल भइरहेको उनले बताए । एमालेले आफूहरुलाई सहयोग गरेमात्र गठबन्धन गर्ने र एमाले पनि त्यसमा सकारत्मक रहेको उनको भनाइ छ ।

सो समूहको उम्मेदवारी गठबन्धनको विरुद्धमा रहेको र चितवन–३ का कांग्रेस कार्यकर्ता र आम मतदाताको ‘रुख’ मा मतदान गर्न पाउनु पर्ने अधिकारलाई सुनिश्चित गर्नु आफूहरुको मुख्य एजेण्डा रहेको पौडेलको भनाइ छ । ‘हाम्रो उम्मेदवारी अनमेल गठबन्धनको विरुद्धमा हो । २०६४ पछि चितवन–३ का कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाएका छैनन् । गठबन्धनको नाममा अधिकार हनन् भएन र ?’ उनले भने, ‘२०७४ मा कांग्रेस धेरै ठाउँबाट पराजित भयो । हिजो एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । त्यहाँ विचार मिल्यो, पार्टी एक बनाउनेसम्मको कुरा थियो । तर, पनि त्यो सफल हुन सकेन । विचार नै नमिल्ने दलहरुसँग गठबन्धनको नाम कांग्रेसका कार्यकर्ता र मतदातालाई कहिले हलोमा, कहिले हसिया हथौडामा भोट हाल्न बाध्य पार्नु उनीहरुको अधिकारमाथिको हस्तक्षेप हो ।’

त्यसैले कांग्रेसका कार्यकर्ता र मतदाताको अधिकार सुनिश्चितताको लागि आफूहरुले विद्रोह गरेर उम्मेदवारी दिने तयारी गरेको उनको भनाइ छ । उनले गत स्थानीय तहको निर्वाचनमा कांग्रेसमा विद्रोह गरेका नेता र कार्यकर्ताहरुको कारवाही फुकुवा गरेर समस्या समाधान गरेर अघि बढ्न सकिने पनि बताए । रुखमा भोट हाल्न माग गरेकै आधारमा कारवाहीमा परेका कार्यकर्ताको कारवाही बिना शर्त फुकुवा गरेर चितवनमा कांग्रेसको उपस्थितिलाई बलियो बनाउन सकिने उनको भनाइ छ । कारवाही फुकुवापछि विकास हुने अवस्थाको आधारमा चितवन–३ बाट प्रचण्डको व्यवस्थापनका बारेमा सोच्न सकिने उनले बताए ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available