Nirvik Khabar

स्पेन र पोर्चुगलमा विमान हडतालको घोषणा

पेरिस — युरोपको सबैभन्दा व्यस्त न्यून भाडादर (लो कस्ट) को विमान कम्पनी इजिजेटका कर्मचारीहरूले अगस्टमा ९ दिनको हडताल आह्वान गरेपछि लाखौं यात्रु प्रभावित हुने भएका छन् ।युरोपमा अगस्ट वर्षभरकै सबैभन्दा व्यस्त बिदा मनाउने समय भएकाले हडतालले लाखौं यात्रुलाई प्रभावित गर्ने भएको छ । कम लागतको विमानद्वारा पोर्चुगल र स्पेनमा उडान गर्ने यात्रुहरूले छुट्टीयाम अगस्टभरि ठूलो यात्रा अवरोधको सामना गर्नुपर्ने छ ।

स्पेन र पोर्चुगलमा इजिजेटका पाइलटहरूले आफ्नो तलब र कामको अवस्था सुधार्नुपर्ने माग गर्दै यो महिना ९ दिन कामबाट बाहिरिने घोषणा गरेका छन् ।स्पेनिस युनियन अफ एयरलाइन पाइलट (सेप्ला) ले १२ देखि १४, १९ देखि २१ र २७ देखि २९ अगस्टसम्म तीन फरक फरक मितिमा ७२ घण्टा हडताल गरिने जनाएका छन् । पाइलटहरूले काम गर्ने अवस्था कोरोना भाइरस अघिभन्दा हाल बिग्रिएकाले भाइरसपूर्वको अवस्था पुनर्स्थापित गर्न र आफ्नो न्यूनतल तलब बढाउनुपर्ने लगायत माग राखेका छन् ।

युनियनले इजिजेटलाई आफ्ना पाइलटहरूको सम्झौता अल्पकालीन गरेकाले त्यसलाई बढाएर नयाँ दिर्घकालीन समयको बहु-वर्षीय सम्झौताहरू उपलब्ध गराउन पनि माग गरेको छ ।’यो अन्तिम सम्भावित उपाय हो, किनकि पाइलटका प्रतिनिधिहरू सम्झौतामा पुग्ने सबै प्रयासहरू असफल भएका छन्,’ सेप्लाले भनेको छ ।

सेप्लाले आफ्ना प्रतिनिधिहरूले ६ महिनाभन्दा बढी वार्तालाप गर्दा पनि समाधान ननिकालेको भन्दै हडताल आह्वान गरेको जनाएको छ । र स्पेनिस पाइलटहरूको अवस्था सधैं युरोपका बाँकी देशहरूमा भन्दा खराब भएको दाबी सेप्लाको छ ।त्यस्तै पोर्चुगलका दुई वटा युनियनका नागरिक उड्डयन कर्मचारीहरूले अगस्ट १९ देखि अगस्ट २१ सम्म हडताल घोषणा गरेका छन् ।

यदि यो हडताल भएमा यसले पोर्चुगलको राजधानी लिस्बनसहित अन्य ठूला सहर पोर्तो, फारो र देशको सबैभन्दा ठूलो विमान अपरेटर समूह एएनएद्वारा नियन्त्रित सबै एयरपोर्टहरूलाई असर गर्नेछ ।

पोर्चुगलको सिभिल एभिएसन वर्कर्स युनियन (सिन्टाक) र कमर्सियल एभिएसन स्टाफ युनियन (एसकाक) ले संयुक्त विज्ञप्ति जारी गर्दै कामदारहरूको ज्याला वृद्धिको माग गरेका छन् ।

कम्पनीले हामीलाई लामो समयदेखि जे पूरा गर्नुपर्ने थियो गरेन, अब हामीले गर्ने हडतालबाट मात्रै पूरा हुने छ । सामाजिक स्थिरता, कामदारको अधिकारको सम्मान र मौलिक रूपमा जनताका सुविधाका लागि हामीले हडताल आह्वान गरेका हौं,’ युनियनहरूले भनेका छन् ।पोर्चुगलको बजेटको प्रमुख स्रोत पर्यटन भएकाले गर्मीयाममा पोर्चुगलमा छुट्टी मनाउन जाने लाखौं पर्यटकलाई यो हडतालले बिथोल्ने छ ।

एयरपोर्ट्स अफ पोर्चुगल (एएनए) ले लिस्बोन, पोर्तो, फारो, मादेइरा, पोन्ता देलगाडा, होर्ता, सान्ता मारिया, फ्लोरेस र बेजासहित देशका १० एयरपोर्टहरू सञ्चालन गर्छ । फारो एयरपोर्ट पोर्चुगलको सबैभन्दा लोकप्रिय छुट्टी स्थलहरूमध्ये एक एल्गार्वेको प्रवेशद्वार मानिन्छ ।

गत वर्षको पहिलो चार वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा यात्रु संख्या ५०० प्रतिशतले बढेर विमानस्थलहरू व्यस्त रहेका बेला पाइलटहरूको हडतालले पोर्चुगलको पर्यटनलाई ठूलो असर पार्ने स्थानीय अधिकारीहरूको भनाइ छ ।

पोर्चुगिज युनियनहरू एएनए र स्पेनिस पाइलट एसोसिएसनका माग समान छन् । उनीहरूले पछिल्लो समयको मुद्रास्फीतिलाई ध्यानमा राख्दै आफ्ना सदस्यहरूको तलब बढाउन माग गरिरहेका छन्।

युनियनहरूले अपरेटरलाई थप कामदारहरू भर्ती गरेर कर्मचारीको सुरक्षाको आदर गर्न पनि आग्रह गरे । उनीहरूले चेतावनी दिएका छन्, ‘एयरपोर्टमा यात्रु संख्यामा भएको वृद्धिको अनुपातमा कर्मचारी संख्यामा अभाव छ । केबिन क्रू र ग्राउन्ड स्टाफलाई निराश यात्रुहरूद्वारा दुर्व्यवहार हुने जोखिम बढेको छ ।’

एएनए र पाइलट एसोसिएसन अफ स्पेनले मानव संसाधनको कमीलाई पूर्ति गर्न तत्काल कदम चाल्नु पर्ने माग पनि गरेका छन् ।त्यस्तै, स्पेनमा रायन एयर केबिन क्रूले अर्को पाँच महिनासम्म हप्ताको चार दिन हडताल गर्ने धम्की दिएका छन्।

बेलायतस्थित हिथ्रो विमानस्थलको ब्रीटीश एयरवेज (बीए) का कर्मचारीहरूले जुलाइमा हडताल गर्ने धम्की दिएका थिए । तर बीएले तलबमा अत्यधिक सुधारको प्रस्ताव गरेपछि हडताल रद्द गरेको बेलायतको युनाइटेड युनियनले सार्वजनिक गरेको थियो ।

पछिल्ला केही महिनाहरूमा, इटाली, फ्रान्स, जर्मनी, ग्रिस र नेदरल्याण्ड्सका कामदारहरूले पनि हडताल आयोजना गरेका छन् ।इजिजेट र रायन एयर दुवै कम्पनीले हडताल रोक्न वार्ता जारी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस