चितवन । पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्युतका कर्मचारी धरौटिमा छुटेका छन्। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले विद्युत प्राधिकरण भरतपुर शाखाका कार्यालय प्रमुख राजिव सिंहसहित ८ जनालाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटीमा छाडेका हुन्।
पत्रकार कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा उनीहरु प्रहरीको नियन्त्रणमा थिए। असार ३१ गते भरतपुर वितरण केन्द्रका मदिराले मत्त कर्मचारीहरुले पत्रकार कृष्ण आचार्यलाई परिसरभित्रै कुटपिट गरी लखेटेका थिए। आचार्यको हातमा चोट लागेको छ। शनिबार पत्रकार आचार्यले किटानी जाहेरी दिएको आधारमा प्रहरीले आईतबार मुद्दा दर्ता गरेको थियो।
आचार्यले प्राधिकरणका कार्यालय प्रमुख राजिब सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नद बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेलविरुद्ध किटानी जाहेरी दिएका थिए।
अभद्र व्यवहार सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ। १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहिताले उल्लेख छ। तर, जिल्ला प्रशासनले दवावका आधारमा धरौटीमा छाडेको टिप्पणी हुँदै आएको छ।
Discussion about this post