काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद डा. भीमबहादुर रावलले नेपाल सरकारले सोमबार अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेकामा धन्यवाद दिँदै प्रधानमन्त्रीले सदनमा यस बारेमा थप स्पष्ट पार्नुपर्ने आग्रह गरे ।
बैठकमा सांसद सञ्जयकुमार गौतमले केही नेताहरुले उग्रराष्ट्रवादका नाममा संसद्मा के के बोल्न थालेको बताउँदै यस्ता कुरा जनताले नबुझ्ने भएकाले जनजीविकाका विषयमा आवाज उठाउन आग्रह गरे । उनले किसानलााई समयमै रासायनिक मलको आवश्यक व्यवस्था गर्न, पेट्रोलियम पदार्थको मूल्यवृद्धिले धेरै क्षेत्रमा असर पार्ने बताउँदै यसको समाधानका विकल्पबारेमा सोच्न तथा मौसमी विपद्बाट हुने क्षतिका लागि पूर्वतयारी गर्न समेत आग्रह गरे ।
सांसद हरिराज अधिकारीले सरकारको एसपीपी अघि नबढाउने निर्णयको स्वागत गर्दै नेपालजस्ता मुलुक कसैको नभएर सबैको हुन सक्छौं भने । साथै उनले मनसुनी बाढीपहिरोबाट हुनसक्ने क्षतिका बारेमा पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद पार्वतीकुमारी विशङ्खेले माथिल्लो कर्णाली आयोजना १४ वर्षमा पनि अघि नबढेको बताउँदै दैलेखको दुल्लुका जनताले नेपाली सेनाले उपभोग गरेको जग्गाको मुआब्जा हालसम्म नपाएको जानकारी गराउँदै तत्काल मुआब्जा दिलाउन सभामुखमार्फत सरकारसँग माग गरिन् ।
सांसद अनिलकुमार झाले शहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी विकास आयोजना व्यवस्थितरुपमा अघि नबढाएका कारण रौतहटको गौर र ग्रामीण क्षेत्रमा बाढीले जलमग्न हुने अवस्था सिर्जना भएकाले समाधानका लागि सरकारसँग आग्रह गरे ।
Discussion about this post