काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास छन् ।
सङ्घले आज आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए । उनले भने, “तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको विषय जतिसक्दो चाडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ, यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा पुनः म यहाँहरुलाई आश्वास्त तुल्याउन चाहन्छु ।”
प्रधानमन्त्री देउवाले एनआरएनएले उठाएका जायज मागप्रति सरकार संवेदनशील रहेको र उनीहरुको नेपाल आवागमन सहज गर्नेदेखि लगानी र सम्पत्तिको संरक्षण गर्ने काममा सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले संसारभरि छरिएर रहेका प्रवासी नेपालीलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गर्दै विदेशमा आर्जन गरेको पूँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न पनि आग्रह गरे । “अब विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप र कौशललाई मुलुकको विकासका लागि उपयोग गर्न सङ्घमार्फत सबै गैरआवासीय नेपालीलाई आग्रह गर्दछु”, उनले भने ।
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुहरुको उपभोगलाई प्रोत्साहन गर्नसके निर्यात प्रवद्र्धन हुने र नेपाली उद्योगधन्दाको सदुपयोग हुने भन्दै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगसँग समन्वय र सहकार्य गरेर विदेशी पुँजी नेपाल भित्र्याउने कार्यमा पनि सक्रिय हुन आह्वान गरे ।
प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षको बजेटमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको र १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाएको उल्लेख गरे । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय भएको उनले बताए ।
प्रधानमन्त्री देउवाले सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालका बैंकमा डलर खाता खोल्न सहज गरेको साथै गत जुन १ देखि नेपाल राष्ट्र बैंकले ब्याज दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको बताए । उनले नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने उद्देश्यले गरिएको यो व्यवस्थाबाट संसारभरि रहेका नेपालीहरुलाई डलर खाता खोलेर तथा बचत पत्र किनेर फाइदा उठाउन आग्रह समेत गरे । उनले गैरआवासीय नेपाली समुदायले नेपालमा विसं २०७२ को महाभूकम्पमा पीडितको उद्धार र राहतका साथै सुरक्षित आवास निर्माण तथा कोभिड–१९ महामारीको असहज परिस्थितिमा पिसीआर किट, अक्सिजन उपकरणलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर हजारौँको ज्यान बचाउन गरेको कामको सराहना गरे ।
कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले गैरआवासीय नेपालीको लगानी प्रोत्साहन गर्न सरकारले ‘विशेष आर्थिक क्षेत्र’ स्थापना गर्ने योजना बनाइरहेको जानकारी दिए । उनले संविधानको भावना अनुरुप गैरआवासीय नेपालीका लागि नेपाली नागरिकता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री खड्काले अबको मुख्य लक्ष्य नेपालको आर्थिक विकास, पर्यटन प्रवद्र्धनका साथै विदेशी ज्ञान, सीप, पुँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे । उनले नेपालमा जलविद्युत्, कृषि, पर्यटन, सञ्चारका साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठूलो लगानीको आवश्यकता रहेको भन्दै लगानी भित्र्याएर लाभ लिन पनि अनुरोध गरे ।
परराष्ट्रमन्त्री खड्काले वैदेशिक रोजगारबाट फर्केका नेपालीका लागि एउटा ‘च्यालेन्ज फन्ड’ स्थापना गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयमा प्रधानमन्त्री देउवाले दिएको आश्वासनबाट आफूहरु उत्साहित भएको बताए । साथै उनले गैरआवासीय नेपाली ऐन र नियमावलीमा पनि सामयिक परिमार्जन गर्न नेपाल सरकारसँग आग्रह गरे ।
सङ्घका अध्यक्ष डा. बद्री केसीले नेपालको संविधानले व्यवस्था गरेको गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय चाडो टुङ्गोमा पु¥याउन आग्रह गरे । उनले गैरआवासीय नेपालीलाई नेपालमा डलर खाता खोल्न तथा साढे १२ प्रतिशत व्याज पाउने वैदेशिक रोजगार बचतपत्र किनेर लाभान्वित हुन पनि अपिल गरे ।
सेमिनारको अघिल्लो सत्रको लगानी प्रवद्र्धनसम्बन्धी छलफलमा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले नेपालमा विदेशी लगानी भित्र्याउन, पुँजी र प्रविधिलाई आकर्षण गर्न सरकारले नीतिगत सुधारका काम गरिरहेको उल्लेख गर्दै कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर लिलिमा ढुङ्गाना तिम्सिनाले विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकले सकारात्मक प्रयास गर्दै आएको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बढीभन्दा बढी विदेशी लगानी भित्र्याउन समन्वयकारी भूमिका निर्वाह गर्न गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे ।
Discussion about this post