नवलपुर । असार महिना लाग्न केहि दिनमात्रै बाँकि रहँदा नवलपुरको कावासोती नगरपालिकाले आर्थिक प्रलोभनमा पर्दै नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको छ । असार महिना सुरु भएपछि नदीजन्य पर्दाथ उत्खनन गर्न नपाइने प्रावधान छ ।चितवनको गोर्खा विल्डर्स नामक ठेकेदार कम्पनीलाइ कावासोती नगरपालिकाले स्थानीय केरुङ्गे खोलाबाट नदीजन्य पर्दाथ उत्खनन गर्न अनुमति दिएको हो ।
कावासोती नगरपालिका नगरकार्यपालिकाको बैठकले गोर्खा विल्डर्सलाई नदीजन्य पर्दाथ उत्खननको अनुुमति दिएको नगरपालिकाका सूचना अधिकारी मुक्तिप्रसाद बसेलले जानकारी दिए । उनका अनुसार भ्याट बाहेक १करोड ४२ लाख ५५ हजार रुपैँयामा ठेक्का सम्झौता गरिएको छ ।असार महिना लाग्न केहिदिन मात्रै बाँकि रहदा नगरपालिका आर्थिक प्रलोभनमा परेर ठेकेदारलाई खोला जिम्मा लगाएपछि त्यसको चौतर्फी आलोचना भएको छ । पाँचदिनको लागि खोला खोल्नुको पछाडि ठुलो आर्थिक चलखेल भएको आशंका गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशाासकीय अधिकृत राकेश गुरुङ विदामा रहेको र निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा क्षेत्रबहादुर भण्डारी कार्यालयमा रहेको भएपनि ठेकेदारसँग लेखा अधिकृत मदन गौतमले हस्ताक्षर गरेको बुझिएको छ । यो विषयमा नगरपालिकाका मेयर विष्णुप्रसाद भूसाललाई पटक पटक फोन सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।
Discussion about this post