Skip to main content

Nirvik Khabar

प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्ष कान्दाले गरे नेपाललाई साढे ३ खर्ब सहयाेग गर्ने घोषणा

Advertisements
Single Page Long - 2

एसियाली विकास बैंक (एडीबीले)ले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनका लागि आगामी ३ वर्षभित्र साढे ३ खर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेनसँगको भेटलगत्तै एडीबी अध्यक्ष मासातो कान्दाले सन् २०२९ सम्म थप २.४ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउने बताएका हुन्।

अध्यक्ष कान्दाले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन्। कान्दाले प्रधानमन्त्रीलाई प्राप्त भएको बलियो जनादेशका लागि बधाई दिँदै नेपालको विकास र आर्थिक सुधारका कार्यक्रमलाई बैंकको पूर्ण साथ रहने बताएका छन्।उनले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी विस्तारका लागि सरकारले अघि सारेका महत्वाकांक्षी सुधार कार्यक्रमलाई एडीबीले प्राथमिकताका साथ सहयोग गर्ने उल्लेख गरेका छन्। साथै, एडीबीले नेपालका लागि सबैभन्दा ठूलो विकास साझेदारका रूपमा थप सक्रिय हुने उनको भनाइ छ।

उक्त सहयोगले सरकारको विकास दृष्टिलाई व्यवहारमा उतार्न तथा आर्थिक वृद्धि, पूर्वाधार विकास र जनताको जीवनस्तर सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।एडीबीले नेपालसँग ६ दशक लामो सहकार्य भएको भन्दै उनले खुसी व्यक्त गरेका थिए। यस अवधिमा सुरक्षित विद्यालय निर्माण, स्वच्छ ऊर्जा विकास, पूर्वाधार विस्तार तथा नागरिकका लागि अवसर सिर्जनालगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिएको कान्दाले उल्लेख गरेका छन्।

अध्यक्ष कान्दाले आगामी दिनमा पनि प्रधानमन्त्री तथा नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्दै नेपाली जनताका लागि ठोस, दिगो र परिणाममुखी विकास उपलब्धि हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनी आइतबार राति नेपाल आएका थिए। नेपालमा उनले अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग समेत भेटवार्ता गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस