चितवन । नारायणघाटको नारायणी नदीकिनारमा आयोजित नारायणी एक्स्पो राष्ट्रिय पञ्चै नौमती बाजा आइडल २०८२ को उपाधि नवलपुरको गैँडाकोटस्थित कालिका फेदी नौमती बाजा समूहले प्राप्त गरेको छ । प्रतियोगितामा पहिलो भएको कालिका फेदीले २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको एक्स्पो आयोजक संस्था रेडरक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा चितवन मगर बाजा समूह दोस्रो हुँदै १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको क्षेत्रीले जानकारी दिए । त्यस्तै प्रतियोगितामा नवलपुरको गैँडाकोटकै रानीताल बाजा समूह तेस्रो हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको क्षेत्रीको भनाइ छ । कार्यक्रममा पञ्चै नौमती बाजा संरक्षण केन्द्र सान्त्वना हुँदै पाँच हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाएको क्षेत्रीले बताए ।
प्रतियोगितामा उत्कृष्ट सनई बादकका रुपमा तिल बहादुर परियार, गगन परियार तथा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने डोलबहादुर परियारलाई समेत पुरस्कृत गरिएको क्षेत्रीको भनाइ छ । कार्यक्रमका निर्णायक संयोजक विन खातीले पञ्चै नौमती बाजाका वाद्य वादक, पोशक, हाउभाउ तथा ताल हेरेर पुरस्कार प्रदान गरिएको बताए । प्रतियोगिताको निर्णायक सदस्यहरुमा दीपेन्द्र ठकुरी र मंगल विक रहेका थिए ।
‘मौलिक संस्कृतिको संरक्षण गरौँ, पञ्चै नौमती बाजाको प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ माघ ८ गते प्रतियोगिता आयोजना गरिएको थियो । नारायणघाटको क्याम्पाचौरबाट पञ्चै तथा नौमती बाजा बजाउँदै एक्स्पो सञ्चालन स्थल नारायणी नदी किनारमा पुगेर प्रतियोगिता सञ्चालन भएको थियो ।
बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल प्रमुख अतिथि रहेको कार्यक्रमको सहआयोजक नेपाल आदिवासी जनजाति महासंघ चितवन समन्वय परिषद् रहेको थियो । कार्यक्रममा दाहालले हाम्रो मौलिक कला र संस्कृतिको संरक्षण र जगेर्नामा इभेन्ट्सले गरेको पहलको प्रशंसा गरे । हामीले हाम्रो संस्कृतिको संरक्षण गरेमा मात्रै हाम्रो पहिचान स्थापित हुने दाहालको भनाइ थियो ।


































Discussion about this post