चितवन, जेठ ६
बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा चितवन प्रहरीले ५ जना युवाहरुलाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १४ स्थित एक घरमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी रविन्द्र खनालले दिएको जानकारीअनुसार गत वैशाख २५ गते साँझ ५ बजे ती बालिकालाई उनका साथीले आफ्नो घरमा बोलाएका थिए। साथीले आफ्नो घरमा बाबुआमा भएको भन्दै अर्को साथीको घरमा जाने प्रस्ताव गरे। उक्त घरमा कोही नभएको मौका छोपेर बालिकामाथि ६ जनाले बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
बालिकालाई जबरजस्ती मिनरल वाटरको बोतलमा रहेको सेतो रंगको रक्सी खुवाएर अर्धचेत अवस्थामा बलात्कार गरिएको जाहेरीमा उल्लेख रहेको डिएसपी खनालले बताए। राति ९ बजेदेखि विहान ६ बजेसम्म सामूहिक बलात्कार गरेको र ६ जनामध्ये एकले अश्लिल भिडिओ पनि खिचेको जाहेरीमा उल्लेख छ।
अश्लिल भिडिओ देखेपछि बालिकाले आफ्नी माइजुलाई घटनाको विषयमा जानकारी गराएकी थिइन्। त्यसपछि उनका मामाले प्रहरीमा जाहेरी दिएका थिए।
प्रहरीले सूचना पाएलगत्तै भरतपुर–१४ बाट ५ जना युवाहरुलाई पक्राउ गरेको थियो। घटनामा संलग्न एक जना फरार रहेको डिएसपी खनालले जानकारी दिए। ६ जनाकै विरुद्ध जवरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको उनले बताए। प्रहरीले फरार व्यक्तिको खोजी भइरहेको जानकारी दिएको छ।
Discussion about this post