चितवन- ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अभियान अन्तर्गत चितवनको ईच्छाकमना गाउँपालिकामा मंगलबार सचेतना तथा प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिममा गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि सहभागी रहेका थिय ।
दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकाबाट यो अभियानको सुरु गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरि कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार यस अगाडि भरतपुर महानगरका एक सय ९८ विद्यालयका एक/एक जना शिक्षकलाई ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ ।
बाँकी ५ पालिकामा क्रमशः तालिम दिइने उल्लेख गर्दै तालिम पश्चात् शिक्षकलाई आवश्यक अडियो, भिडियो, फोटोलगायत सामग्रीसमेत उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
शर्माका अनुसार तालिम लिने सबै शिक्षकले आफ्नो विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारीलाई ट्राफिक नियमसम्बन्धी तालिम दिने छन् । यसबाट सबै विद्यार्थीले ट्राफिक नियमबारे जानकारी पाउनेछन् भने उनीहरूले अभिभावकलाईसमेत यो शिक्षा दिन सक्ने बताइएको छ ।
जिल्लामा पाँच सय आठ विद्यालय छन् । साना कक्षाका विद्यार्थी बाहेक एक लाखभन्दा बढीले यो तालिमबाट लाभ लिने प्रमुख प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।
ट्राफिक जनचेतनाका बारेमा ज्ञान नहुँदा दिनहुँ दुर्घटना बढेको भन्दै कार्यालयले यो अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथी ईच्छाकामना गाँउपालीका अध्यक्ष दान बहादुर गुरुङले बिद्यार्थी स्तरमा यस्ता सचेतनाका कक्षाहरू दिनुले बिद्यार्थीहरूमा कानुनी तथा व्यवहारिक ज्ञान बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुबेदी लगायतको सहभागीता रहेको थियो ।भने ईच्छाकामना गाउँपालिकाकाको सभाहलमा तालिम सम्पन्न भएको हो ।
Discussion about this post