चितवन । चितवनका धार्मिक क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने उद्धेश्य सहित धर्मधाम जोड्ने अभियान सुरु भएको छ । गणेशधाम संरक्षण सम्बद्र्धन समितिको अगुवाईमा जिल्लाभरका मुख्य धार्मिक पर्यटकिय स्थललाई एकआपसमा जोड्दै यसको महत्वबारे आमनागरिकमा उजागर गर्न धर्मधाम अभियान सुरु भएको हो । अभियान अन्तर्गत पहिलो चरणमा ऐतिहासिक रुपले महत्वपूर्ण रहेको माडी नगरपालिकाका मुख्य धार्मिक पर्यटकिय स्थलहरु जोड्ने अभियान सुरु गरिएको गणेशधाम संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए ।
“पौराणिक कालदेखि नै यहाँ धार्मिक महत्वका विभिन्न मठमन्दिरहरु छन् । यीनका आफ्नै महत्व भएपनि एकआपसमा जोड्न सकिएको छैन,” अध्यक्ष चुकेले भने, “यहाँ धर्मधामलाई एकआपसमा जोडी यसको महत्व बढ्नेछ । पर्यटकिय क्षेत्रको प्रबद्र्धन समेत बढ्नेछ ।” अभियान अन्तर्गत धार्मिक क्षेत्र रहेका गाउँ, टोल, वडा र नगरमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम गरिने चुकले बताए । माडीमा धार्मिक पर्यटकिय स्थलहरु वैकुण्ठधाम, शनि मन्दिर, सोमेश्वर कालिका मन्दिर, गोद्धक, वाल्मीकि आश्रम, राम मन्दिर लगायत छन् । अभियानकै क्रममा माडी नगरपालिका वडा नं ८ स्थित नमुना टोलको रुपमा रहेको फुलवारी टोलका स्थानीयसँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गणेशधाम संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष चुकेले धार्मिक क्षेत्रहरुलाई जोड्दै यसको उजागर गर्न सके यहाँ पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । समितिका पदाधिकारीले शनिवार माडीका धार्मिक पर्यटकिय क्षेत्रको अवलोकन गर्दै छन् । अवलोकनका लागि समितिका वरिष्ठ उपाध्यक्ष राजनकुमार श्रेष्ठ, कोषाध्यक्ष रेशमलाल सापकोटा, सदस्य गोकर्ण कार्की, रामकृष्ण धमेल लगायत माडी पुगेका छन् । माडीको बैकुण्ठधाममा शनिवार बालाचतुर्दशीको मेला समेत लाग्दैछ ।
माडी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरेन्द्र भण्डारीले यस धर्मधाम अभियानले बैकुण्ठधामको प्रचारप्रसारमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । सोहि अवसरमा बोल्दै बागमती प्रदेशका सांसद ठाकुरप्रसाद ढकालले भरतपुरको गणेशधाम र देवघाटमा आउने धार्मिक पर्यटकलाई माडीमा आकर्षण गर्न सके अभियान सार्थक हुने बताए । धार्मिक क्षेत्रहरुको विकास र प्रबद्र्धनमा आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए ।


































Discussion about this post