चितवन- चितवनको पर्यटकीय नगरी सौराहाको बाघमारामा रहेको होटल जंगल क्राउनले लगानी थप गरी चारतारे लक्जरी होटल बनाउने भएको छ । होटलले नयाँ भवन थप गरेर चार तारे लक्जरी होटल बनाउन लागेको हो ।
सौराहाकै स्तरीय होटलको रुपमा परिचत यस होटलले सञ्चालनमा आएको १० वर्षपछि चार तारे लक्जरी होटलमा स्तरोन्नती गर्न लागेको हो । व्यवसायी डा।तिलचन्द्र भट्टराई नेतृत्वको लगानीकर्ताको टोलीले होटलमा लगानी थप गरेको हो । होटलको स्तरबृद्धि गर्ने भएपछि नयाँ भवन शिलन्यास गरिएको छ । नयाँ बन्ने तीन तले ४० कोठे भवनको एक कार्यक्रमका बीच पूर्व पर्यटन मन्त्री प्रेम आलेले आज शिलन्यास गर्नुभयो ।
हाल ४३ कोठा सहित सञ्चालनमा रहेको होटलमा नयाँ भवन निर्माण सम्पन्न भएसँगै ४० कोठा थपिने छन् । होटल जंगल क्राउनका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष गिरीका अनुसार होटलमा बस्ने ग्राहकहरूलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरी सरकारले तोकेको मापदण्डा पूरा गर्दै चार तारे स्तरमा स्तरबृद्धि गर्न लागिएको बताउनुभयो ।
होटलका अध्यक्ष डा।तिलचन्द्र भट्टईले भवनमा फरक–फरक स्वाद र परिकारका रेष्टुरेन्ट, ५ सय बढी क्षमताको सभा हल, ४ वटा स्वीट रुमसहित ३६ वटा डिलक्स कोठा, २ वटा स्वीमिङ पुल, स्पा, हेल्थ क्लबलगायत सम्पूर्ण सुविधासहितको होटल बनाउन सुरु गरिएको बताउनुभयो ।दुई वर्षभित्रमा सम्पूर्ण निर्माण पूरा गरी नयाँ कोठाहरु सञ्चालनमा ल्याईने उहाँले बताउनुभयो । दुई विघा बढी क्षेत्रफलमा रहेको होटलको थप लगानी सहित एक अर्बको होटल बन्ने उहाँको भनाई छ ।
आगमी दुई वर्ष भित्र चितवनलाई जोड्ने बुटवल–नारायणगढ, मुग्लिन–पोखरा, मुग्लिन–काठमाण्डौं लगायतका सबै सडक संरचना निर्माण भईसक्दा होटल जंगल क्राउन थप क्षमतामा सञ्चालनमा आउने कार्यकारी प्रमुख गिरीले बताउनुभयो ।
अध्यक्ष भट्टराईले पर्यटन क्षेत्रको भविष्य उज्ज्वल रहेको भन्दै भन्नुभयो “सडक सञ्जाल र भरतपुर विमानस्थलको स्तरोन्नती भएपछि सौराहामा पर्यटकको ओईरो लाग्छ भन्ने हाम्रो विश्वास छ ।” उहाँले सडक र हवाई मार्ग सहज भएसँगै यहाँ स्वदेशी र विदेशी ठूलो संख्यामा पर्यटक आउने बताउनुभयो ।
होटलको नयाँ भवनको शिलन्यास गर्दै पूर्व पर्यटनमन्त्री आलले विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको बताउनुभयो ।होटलको स्तर बृद्धिसँगै ८३ वटा कोठामा १ सय ६५ वटा बेड हुनेछन् । होटलमा प्रेसिडेन्टियल सूईट, एक्सुक्युटिभ, डिलक्स रुम र ३ वटा रेष्टुरेन्ट रहने छन् ।
सौराहामा पछिल्लो समय ठूलो लगानी गरेर होटल खोल्ने क्रम बढेको छ । कतिपय नयाँ होटल थपिएका छन् भने कतिपयले भईरहेका होटलमा लगानी थप गरिरहेका हुन् ।क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले नयाँ होटल र पुरानामा पनि लगानी थपिंदै गएको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले एउटै होटलमा रु.२० करोडभन्दा बढी लगानी भएको छ।”
पछिल्ला तीन बर्षमा सौराहामा नयाँ होटल खोल्न रु. तीन अर्ब बढी लगानी भएको क्षेत्रीय होटल संघ नेपाल सौराहाले जनाएको छ । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जीप सफारी गरेर चितवन निकुञ्जमा रहेको जैविक विविधतासगैँ गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।
Discussion about this post