काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खेलकुदमा पर्याप्त लगानी हुन नसकेको बताउनुभयो । उहाँले खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएको बताउनुभयो । मन्त्री चौधरीले क्रिकेट नेपालको पहिचान भएको बताउनुभयो । उहाँले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको उल्लेख गर्नुभयो ।
मन्त्री चौधरीले नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र खेलप्रेमीको मायाले खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित भएको बताउनुभयो । उहाँले खेलाडीहरुलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधार दिन नसकेको स्वीकार गर्नुभयो । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाँडो भन्दा चाँडो तयार हुने पनि बताउनुभयो ।
मन्त्री चौधरीले भन्नुभयो, ‘खिेलाडीहरु राष्ट्रका गहना हुन् । खेलाडीहरुलाई सुविधा र भौतिक पूर्वाधार दिन सकिएको छैन । ट्रेनरहरुलाई राम्रो व्यवस्थापन गर्न सकिएको छैन । खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व हो । यसमा पर्याप्त लगानी गर्नुपर्छ । खेलकुदको भौतिक पूर्वाधारमा म आफँै चासो दिएर पहल गरिरहेको छु ।’
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताकासाथ अघि बढिरहेको बताउनुभयो । उहाँले नयाँ कार्यसमिति आए लगत्तै नेपाल प्रिमियर लिगको सोच बनाएको बताउनुभयो । नेपाली क्रिकेट र नेपाली खेलकुदलाई सबैको माया चाहिएको बताउँदै उहाँले खेललाई प्रोफेसनल बनाउन सबैले खेलकुदलाई साथ दिनुपर्ने बताउनुभयो ।
सचिव खड्काले नेपाली क्रिकेट आज ब्राण्डको रुपमा प्रस्तुत भएको जिकिर गर्नुभयो । नेपाल प्रिमियर लिगले अझ माथि पुर्याउने बताउनुभयो । एनपीएल आगामी मंसिर १५ गतेदेखि हुन लागेको क्यानले जनाएको छ ।
Discussion about this post