नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई उच्च शिक्षाको बारेमा अभिमुखीकरण गराएको छ ।
आज आयोजित कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक इन्जिनियर हरि भण्डारीले आफूहरुले विद्यार्थीलाई शिक्षासँगै असल संस्कार दिँदै आएको बताउनुभयो । कलेजमा सैद्धान्तिक ज्ञानसँगसँगै विद्यार्थीलाई प्रयोगात्मक र व्यवहारिक ज्ञान दिने गरेको उल्लेख गर्दै भण्डारीले अक्सफोर्ड कलेज उत्कृष्ट व्यवस्थापनमा सञ्चालन भएकाले शैक्षिक वातावरण राम्रो भएको दाबी गर्नुभयो । “शैक्षिक संस्थाको व्यवस्थापन उत्कृष्ट भए शैक्षिक वातावरण पनि राम्रो हुन्छ” भण्डारीले भन्नुभयो, “व्यवस्थापनसँगै कलेजको भौतिक संरचना, सूचना केन्द्र, पुस्तकालय, प्रयोगशाला उत्कृष्ट छन् ।”
सबै विधामा कलेज उत्कृष्ट भएकाले बर्सेनि नतिजा समेत राम्रो आउने गरेको प्राचार्य भण्डारीले बताउनुभयो । कलेजले कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, कानुन, आमसञ्चारसहित स्नातकमा पोखरा विश्वविद्यालयको बिबिए, होटल व्यवस्थापन, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङसहित स्नातकोत्तरसम्मको अध्यापन गराउँदै आएको उहाँले बताउनुभयो । विद्यार्थी कलेजमा प्रवेश गरेपछि उनीहरुले शिक्षासँगै संस्कार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम भएर बाहिर निस्कने भण्डारीको भनाइ थियो ।
कार्यक्रममा विज्ञान संकायका पूर्व विभागीय प्रमुख कृष्णहरि पौडेलले कलेजमा पढाइसँगै अतिरिक्त क्रियाकलापसमेत हुने गरेको बताउनुभयो । “यहाँ किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा समेत प्रदान गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “उत्कृष्ट शिक्षक, सुविधासम्पन्न भौतिक संरचना, छुट्टाछुट्टै प्रयोगशाला रहेकाले यहाँ अध्ययन गर्ने विद्यार्थी उत्कृष्ट हुन्छन् ।” अभिमुखीकरण कार्यक्रममा कलेजका पूर्व विद्यार्थी एवम् राष्ट्रिय बाणिज्य बैंक गैँडाकोट शाखाका सहायक शाखा प्रबन्धक किशोर खड्काले बैंक तथा वित्तीय क्षेत्रका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा डा आदित्य लाभले विज्ञान संकायमा बायोलोजी पढ्नुको फाइदा तथा अवसरको बारेमा एवम् इन्जिनियर रवि घिमिरेले इन्जिनियरिङतर्फको पढाइ र अवसरको बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो । कलेजका सहायक प्राचार्य तिलक पन्थीले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डतर्फ व्यवस्थापन तथा विज्ञान संकायका विभागीय प्रमुख, उपप्रमुख स्नातक तहका कार्यक्रम प्रमुख, विषय शिक्षक, कर्मचारीसहित, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो ।
Discussion about this post