चितवन –पुरूषलाई हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका लागि चितवनमा भोली रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनले मोटरसाइकल र्याली गर्न लागेको छ । क्लबले भोली (शनिबार) आयोजना गर्ने सचेतनामूलक र्यालीलाई ‘डिस्टिङ्गुइस्ड जेन्टलमेन्स राइड–२०२४’ नाम दिइएको छ ।
कार्यक्रमबारे रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । र्यालीमा करिब एक सय वा क्लासिक भिन्टेज बाइकहरु सहभागी हुने रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनका अध्यक्ष प्रितम श्रेष्ठले बताए । शनिबार भरतपुर महानगरपालिकाको कार्यालयअगाडिबाट सुरू हुने र्याली सहरका विभिन्न क्षेत्रको परिक्रमा गरी बाइपास रोडस्थित अताली रेस्टुरेन्टमा पुगेर समापन हुने छ ।
५० वर्ष उमेर नाघेका पुरूषमा प्रोस्टेट क्यान्सरको जोखिम बढी हुन्छ । प्रोस्टेट क्यान्सर प्रोस्टेट ग्रन्थीबाट सुरू हुन्छ । सबै पुरूषको मूत्राशयको नलीआसपासमा प्रोस्टेट ग्रन्थी रहेको हुन्छ । प्रोस्टेटले एक गाढा तथा सेतो तरल पदार्थ बनाउँछ । यसले अण्डकोषद्वारा निर्मित शुक्राणुसित मिलेर वीर्यको उत्पादन गर्छ, जसले वीर्यलाई तरल बनाउँछ ।
बकुलहर रत्ननगर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. शशांककुमार सिंहले प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना वृद्धिका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।
Discussion about this post