चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता वैशाख २६ गतेदेखि सुरु हुने भएको छ ।आइतबार मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक गरिएको छ ।
सह-आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले वैशाख २८ देखि हुने लिगको तालिका सार्वजनिक गरेको हो । लिगमा भरतपुर महानगरपालिका भित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिक र संस्थागतबाट समान १२/१२ विद्यालय रहेका छन् ।सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा दुई सामुदायिक र दुई संस्थागत विद्यालयलाई राखिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
६ समूहबाट समूह विजेता मध्य उत्कृष्ट ४ विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्ने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रि-क्वाटरफाइनल प्रवेश गर्नेछ । लिगको उद्घाटन वैशाख २८ गते भरतपुर ७ कृष्णपुरको मिनी रंगशालामा हुनेछ ।उद्घाटन खेलमा दिउँसो ४ः३० बजे समूह ए मा रहेका स्टेप बाई स्टेप इग्लिश बोर्डिङ स्कुल र ओम शान्ति एकेडेमी बीच हुनेछ ।
कृष्णपुरसँगै भरतपुर-१९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । तीन सातासम्म चल्ने लिगको फाइनल खेल जेठ १९ गते हुनेछ ।चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल विकासका लागि यो लिग महत्त्वपूर्ण कदम हुने बताए ।होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो ।लिगमा सहभागी हुने १२ सामुदायिक विद्यालयका लागि १२ जना प्रशिक्षक नियुक्त गरिएको छ । नियुक्त भएका प्रशिक्षकहरुलाई महानगरले नै सेवा सुविधा उपलब्ध गराउनेछ ।


































Discussion about this post