चितवन । खाना डेलिभरी कम्पनी फुडमाण्डुले चितवनमा पनि आफ्नो सेवा सुभारम्भ गरेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरापछि चितवनमा फुडमाण्डुको सेवा विस्तार भएको हो ।सेवा विस्तार गरेको अवसरमा कम्पनीले वैशाख ३१ गतेसम्म हरेक अर्डरमा ‘फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत (५०० रुपैयाँसम्म) छुट दिने घोषणा गरेको छ ।
कम्पनीले भरतपुरमा शुक्रवार पत्रकार सम्मेलन गरी फुडमाण्डुको सेवा विस्तारबारे जानकारी दिएको हो । सेवाग्राहीले फुडमाण्डुको मोबाइल एप र बेवसाइटमार्फत खाना अर्डर गर्न सक्नेछन् । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमाण्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा देशमा प्रमुख सहरहरुमा विस्तार गर्ने योजना रहेको बताए ।
चितवनमा सेवा विस्तारको प्रारम्भिक चरण रहेकोले अहिलेसम्म २५ भन्दा बढी आबद्ध भइसकेको उनले जानकारी दिए । ‘सुरुवाती चरणमा भरतपुरबाट १० किमीसम्म अर्डर डेलिभरी गरेका छौँ । यसलाई अझ बढाउँदै लैजानेछौँ’, उनले भने । फुडमाण्डुले खाना डेलिभरी गरेबापत सम्बन्धित रेष्टुरेन्ट व्यवसायीसँग सेवा शुल्क लिन्छ भने सेवाग्राहीसँग दुरी र अर्डरको आधारमा डेलिभरी चार्ज लिन्छ ।
कम्पनीका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले फुडमाण्डुको सेवा विस्तार गर्न पाउँदा खुसी भएको बताइन् । चितवनका प्रख्यात रेष्टुरेन्टहरुबाट खानेकुराहरु घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा अनलाइनमार्फत डेलिभरी गर्न आफुहरु उत्साहित भएको उनले बताइन्।फुडमाण्डु सन् २०१० मा स्थापना भएको अनलाइन फुड डेलिभरी कम्पनी हो ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन चितवनका अध्यक्ष अच्युतराज भट्टले फुडमाण्डुको विस्तारले सिथिल बनेको चितवनको हस्पिटालिटी क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
Discussion about this post