काठमाडौँ । काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणको मुद्दा नचल्ने निर्णय गरिएको छ । सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको हो ।
सो निर्णयसँगै सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएका ३ जना छुटेका छन् । नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र नविन अछामीलाई थुनामुक्त गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । ज्ञवालीले भने–‘सरकारी वकिल कार्यालयको निर्णयपछि पक्राउ गरिएकाहरु रिहा भएका छन् ।’
सीआईबीले चैत १८ मा रामहरि अधिकारीलाई र त्यसपछि थप दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । जाहेरवालाको रकम फिर्ता गरेपछि उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको एआईजी ज्ञवालीले बताए ।
नयाँ कृषिको सञ्चालक समितिका सदस्य दुर्गा चापागाईं बुटवलमा थुनामा छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई सीआईबीले काठमाडौँमा झिकाएर बयान लिएको थियो । सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो । कृषि सहकारी खरिद गरेर एकलौटी बनाएका जीबी (गितेन्द्रबाबु) राई अहिले फरार छन् ।
Discussion about this post