Skip to main content

Nirvik Khabar

एक दर्जन पालिकाको सम्पूर्ण नतिजा सार्वजनिक, कसलाई कति सिट ?

Advertisements
Single Page Long - 2

काठमाडौँ। हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये  नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेको छ भने नेपाली काँग्रेस तीन पालिकामा विजयी भएको छ। मनाङको  सबै पालिकाको मत गणना सकिएको छ। मनाङका दुई पालिका एमाले र दुई पालिकामा काँग्रेसले जितेको छ।

त्यस्तै, मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भई सकेको छ । जहाँ तीन पालिका एमालेले जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जितेको छ । १२ पालिकामध्ये एमाले पहिलो स्थानमा, काँग्रेस दोस्रो र नेकपा एकीकृत समाजवादी दुई पालिका जितेर तेस्रो स्थानमा छ। नेकपा माओवादी केन्द्रले एक पालिका जितेको छ।

नेपाली काँग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ। नेकपा एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हो। भने नेकपा माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ।

नेकपा एमाले
मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले दोस्रो पटक निर्वाचित भएका छन् । ६ सय १० मत खसेको गाउँपालिकामा उनले तीन सय २० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका छिरिङ दोर्जे लामाले दुई सय ७९ मत पाए । उपाध्यक्षमा भने तीन सय २५ मत ल्याउँदै काँग्रेसकी मिङ्मार डोमा लामा विजयी भएकी छिन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा यो पालिकाको अध्यक्षमा घले नै निर्वाचन जितेका थिए भने उपाध्यक्ष काँग्रेसले जितेको थियो । यो पटक पनि उपाध्यक्ष काँग्रेसले नै जितेको हो ।

त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन् । घले आठ सय ६१ मत ल्याई विजयी भएका हुन् । काँग्रेसका छिरिङ ओङ्मा गुरुङले सात सय १३ मत पाए । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ सात सय ४४ मत ल्याई विजयी भए । काँग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले सात सय १९ मत पाए ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमाले उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङ एक सय ८५ मत प्राप्त गरेका छन् । विष्ट यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमालेका रिङ्जिन नामगेल गुरुङ आठ सय ६७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी काँग्रेसका आङ्जेन गुरुङले पाँच सय ७७ मत ल्याए । उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ सात सय ४९ मत ल्याई विजयी भएकी छिन् । काँग्रेसकी धेच आङ्मो गुरुङले ६ सय ७७ मत ल्याएकी छन् ।

मुस्ताङकै लोमान्थाङ गाउँपालिकामा एमालेका टसी गुरुङ विजयी भएका छन् । उनले काँग्रेस उम्मेदवार टासी नुर्वु गुरुङलाई एक सय ५४ मतान्तरले पराजित गरेर विजयी भएका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टासी नुर्बुले पाँच सय १४ मत मात्रै ल्याए ।

उपाध्यक्षमा एमालेकै छिमी विष्ट विजयी भएकी छिन् । उनले काँग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराइन् । छिमीले ६ सय ३२ मत पाउँदा छिरिङले पाँच सय ३८ मत पाइन् ।

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको अध्यक्ष एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार धावा सम्डुक गुरुङ निर्विरोध विजयी भएका हुन् । नेकपा एमाले डोल्पाका सचिव समेत रहेका गुरुङबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।

नेपाली काँग्रेस
नेपाली काँग्रेस अहिलेसम्म तीन पालिकामा विजयी भएको छ । सबैभन्दा बढी क्षेत्रमा अग्रता लिइरहेका काँग्रेसले मनाङको दुई गाउँपालिका र मुस्ताङको एक पालिका गरी तीन पालिकामा विजयी भइसकेको हो ।

मनाङको नार्पा भूमि गाउँपालिका र नासोँ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले अध्यक्ष जितेको छ । नार्पा भूमिबाट काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा एक सय ५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले एक सय ११ मत पाए । खसेको तीन सय चार मतमध्ये ३५ मत बदर भएको छ ।

उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन् । नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली काँग्रेसले नै जितेको थियो । त्यस बेला यहाँ निर्विरोध अध्यक्ष चयन भएका थिए ।

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । उनले आठ सय २० मत ल्याएका छन् । एमालेका मनबहादुर गुरुङले ६ सय ४६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका वेदबहादुर गुरुङ नौ सय १३ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यस्तै, मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली काँग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनी सात सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले सात  सय ५८ मत ल्याए ।

२०७४ सालमा नेकपा एमालेको तर्फबाट आशबहादुर थकाली विजयी भएका थिए । उपाध्यक्षमा काँग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याइन् ।

नेकपा माओवादी केन्द्र 
नेकपा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा उसले खाता खोलेको हो । माओवादीका नारा सिं रोकायले सात सय ७० मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका हेमबहादुर महतराले सात सय ४६ मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहोरा सात सय ५९ मत ल्याई विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी चन्द्रावती थापाले सात सय ४९ मत प्राप्त गरिन् ।

नेकपा एकीकृत समाजवादी निर्विरोध  
नेकपा एकीकृत समाजवादीले डोल्पाका दुई पालिकामा निर्विरोध भइसकेको छ ।  काइके गाउँपालिका अध्यक्षमा अंगदकुमार राना निर्विरोध भएका थिए । उपाध्यक्षमा काँग्रेसका निमा बुढा निर्विरोध भएका थिए । २०७४ सालमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

डोल्पाकै छर्का ताङसोङ गाउँपालिका नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निर्विरोध भएका थिए । २०७४ सालमा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस