Nirvik Khabar

निर्माण थालेको दश बर्ष पछि ठिमुरा–देवघाट पुल सञ्चालनमा

चितवनः भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्ष पछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल सम्पन्न भएर सञ्चालनमा आएको हो ।डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार निर्माणको क्रममा प्राविधिक समस्या आएको, हावाहुरीले निर्माणकै क्रममा ढलेको लगायतका कारण काममा ढिलाई भएको हो । निर्माण कार्य सुरु हुनु अघि बनाईएको नक्शाङ्कन बीचमा संशोधन गर्नुपर्दा समय लागेको उहाँले बताउनुभयो । निर्माण सुरु गरी नक्शा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो ।

पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्शा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “एक सय २० मिटर ढलान गरिएको छ भने अन्य स्थानमा स्टिलको स्पान बनाईएको छ ।” भरतपुर महानगरपालिका वडा न. १ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका वडा न. ५ को घिनटार जोड्ने त्रिशुली नदीमाथिको यो पुल निर्माणको कार्य बि. सं. २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि वढाईएको थियो ।

ठेक्का सम्झौता भएको मितिले ३ वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा बि. सं. २०७७ साल चैत २४ गते पहिलो पटक निर्माणाधिन पुल भत्किएको थियो । दोस्रो पटक २०७९ साल बैसाखमा भत्किएको थियो । दुई पटकसम्म पुल भत्किए पछि काममा थप ढिलाई भएको हो ।

पुल निर्माणका लागि शुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संसोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ । पौडेलले नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्नै लाग्दा पुल भत्कनु लगायतका कारण काममा ढिलाई भएको जानकारी दिनुभयो । डिभिजन सडक कार्यालयका तत्कालिन डिभिजनल प्रमुख हरि कुमार पोख्रेल हुँदा निर्माण सम्झोता गरिएको यो पुल आठौं प्रमुख पौडेल रहँदा सम्पन्न हुन लागेको हो । यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्बित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस