सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडा नम्बर २ मा रहेको हरिरवा जनता मावि मतदान स्थलमा मतदान अधिकृतमाथि कुटपिट हुनुको साथै मतपेटिका तोडफोड भएको छ ।
कुटपिटबाट घाइते मतदान अधिकृत विपीन यादवलाई उपचारका लागि एम्बुलेन्सबाट राजविराज पठाइएको डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो । एक जना मतदाताले आफूले मतपत्रमा चिह्न लगाउन नजान्ने भन्दै मतदान अधिकृतसँग सहयोग मागेका र ती व्यक्तिले मतदान अधिकृतले मतपत्रमा अर्कै चिह्न लगाइदिएको भन्दै विवाद गरेपछि अवस्था तनावपूर्ण बनेको उहाँले बताउनुभयो ।
दुई हजारभन्दा धेरै मत खसिसकेको अवस्थामा केही व्यक्तिले तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरूले मतदान स्थलका कागजातहरूसमेत च्यातेका छन् ।
अहिले मतदाताहरू सबै मतदान स्थलबाट टाढा गएकाले मतदान केन्द्र सुनसान रहेको निर्वाचन अधिकृत मगरले बताउनुभयो । झडप गर्ने पक्षलगायत दलहरूसँग छलफलको प्रयास भइरहेको भए पनि उनीहरू छलफलमा नआएकाले बाँकी मतदान प्रक्रिया कसरी अघि बढ्न भन्ने टुङ्गो नभएको पनि मतदान अधिकृत मगरले बताउनुभयो ।































Discussion about this post