चितवन- उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभा तथा अधिवेशनको मिति नजिकिएसँगै उम्मेदवारहरुले आफ्ना योजनाहरु निर्माण गरेका छन् । बिहीबार नारायणगढमा आयोजना गरिएको उम्मेदवार परिचय तथा आफ्नो प्रस्तुत गर्ने ककस कार्यक्रममा अध्यक्षका प्रत्यासी सुमन कुमार श्रेष्ठले व्यवसायीको पक्षमा निर्माण गरेको कार्ययोजना सुनाउनुभयो ।
उम्मेदवार श्रेष्ठले विगत १८ वर्षदेखि संघको विभिन्न पदमा रहेर पर्याप्त अनुभव तथा अन्य संघसंस्थामा नेतृत्व गर्दा प्राप्त गरेको सफल अनुभव र आफ्नो व्यवसायिक अनुभवको आधारमा संघको अध्यक्ष भएर काम गर्ने तयारी गरेको बताउनुभयो । उहाँले ककस कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनले गर्नुपर्ने कामलाई प्राथमिकताको आधारमा विभिन्न क्षेत्रमा वर्गीकरण गर्दै आफ्ना योजनाहरु प्रस्तुत गर्नुभयो । अध्यक्षका उम्मेदवार श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यमा गर्नुपर्ने कार्यहरु, कर कार्यालयसँगको सहकार्यमा गर्नुपर्ने कार्य, बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा गर्नुपर्ने कार्यहरुको प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँले सडक किनारको फुटपाथ पैदल यात्रीहरुको लागि खाली राखिनुपर्ने भन्दै फुटपाथमा हुने व्यापारी गतिविधिलाई निरुत्साहित गरी वैकल्पिक व्यवस्था गर्न पहल गर्ने बताउनुभयो । त्यस्तै, नारायणगढ बजार क्षेत्र र राजमार्ग क्षेत्रमा पार्किङलाई सहज, वैज्ञानिक तथा व्यवहारिक व्यवस्थापन गर्न पहल गर्ने बताउनुभयो । उम्मेदवार श्रेष्ठले आर्थिक मन्दीका कारण व्यवसायी चरम संकटमा परेका कारण व्यवसाय कर घटाउन पहल गर्ने आफ्नो कार्ययोजना रहेको बताउनुभयो ।
अहिले देशमा चरम आर्थिक मन्दी भएको भन्दै व्यवसायीको घरभाडा घटाउन घरबेटीसँग पहल गर्ने योजना निर्माण गरेको बताउनुभयो । व्यवसाय गर्दा पसलको चिनारीका लागि राखिने साइबोर्डको कर खारेज गर्न पहल गर्ने उम्मेदवार श्रेष्ठले बताउनुभयो । व्यवसायीले बिक्री गर्ने वस्तु तथा सेवाको गुणस्तरको मापदण्ड सम्बन्धीत वस्तुगतका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि र विज्ञसँगको सहभागितामा तयार गर्नेगरी कार्ययोजना निर्माण गरेको उहाँले बताउनुभयो ।
अहिले बजारमा जुनसुकै समयमा पनि सवारीसाधनले सामान लोड अनलोड गर्ने गरेको भन्दै यसका लागि निश्चित समय निर्धारण गर्ने उहाँले बताउनुभयो । त्यस्तै, चितवनका विभिन्न ठाउँबाट आउने सार्वजनिक सवारीसाधनलाई नारायणगढ बजारसम्म आउने र हरेक चोकमा रोक्ने व्यवस्था मिलाउन पहल गर्ने उहाँको भनाइ छ । स्थानीय तहले सामान खरिद गर्दा स्थानीय व्यापारीसँगमात्रै खरिद गर्नुपर्ने व्यवस्था गर्न पहल गर्ने श्रेष्ठको भनाइ छ ।
छ लेन सडक विस्तारमा ढिलाइ हुँदा व्यवसायीहरु प्रभावित भएको भन्दै उम्मेदवार श्रेष्ठले सडक विस्तारको योजना समयमै सक्नेगरी प्रभावकारी कदम चाल्ने बताउनुभयो । आन्तरिक राजस्व कार्यालयसँगको सहकार्यमा व्यवसायमैत्री कर निर्धारण गर्ने, कर तिर्नेलाई सम्मानजन्य व्यवहार गर्ने वातावरण तयार पार्ने उहाँको भनाइ छ । अन्य विभिन्न संघसंस्थासँग सहकार्य गर्दै व्यवसाय प्रवद्र्धनका लागि काम गर्ने उहाँको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई दिने ऋणमा पहिले लिएको ब्याज नै कायम हुने व्यवस्था गर्न पहल गर्ने श्रेष्ठले बताउनुभयो । व्यवसायीको हरेक समस्यामा सँगसँगै सहकार्य गर्दै अघि बढ्ने श्रेष्ठको भनाइ छ । विगत केही वर्षदेखि व्यवसायीले भोग्दै आएको साझा समस्या र चुनौतीलाई संस्थागत रुपमा समाधान गर्ने उद्देश्यका साथ संस्थाको अध्यक्षमा आफूलाई योग्य उम्मेदवारको रुपमा उभ्याएको उहाँको भनाइ छ ।
Discussion about this post