चितवन – आइतबार साँझ धारिलो हतियार प्रयोग गरी अनिल परियार (कान) को हत्यामा संलग्नलाई प्रहरीले खोजिरहेको छ ।हत्या भएको तीन दिन बितिसक्दा पनि घटनामा संलग्न व्यक्ति अझै पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले हत्यामा संलग्नको खोजी कार्य भइरहेको बताए ।
हत्यामा अजय सिंह नाम गरेका भारतीय नागरिकको संलग्नता रहेको भन्दै उनको खोजी कार्य भइरहेको डिएसपी अधिकारीले बताए । ‘हामीले खोजिरहेका छौं । अहिलेसम्म पक्राउ परेका छैनन् । अनुसन्धान भइरहेको छ । अहिले यति नै भनौं ।’
भरतपुर महानगरपलिका १२ मिलनचोक निवासी कांग्रेस बागमती प्रदेश प्रतिनिधि परियारको आइतबार साँझ ७ः३० बजे धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो । भरतपुर ७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेर उनको हत्या गरेको थियो ।
घटनास्थलमा दुई वटा गोलीक्को खोका फेला परेको थियो । तर भरतपुर अस्पतालमा गरिएको पोस्ट मार्टम रिपोर्टले उनको धारिलो चक्कु प्रहार गरेर हत्या भएको देखाएको छ । पोस्ट मार्टम रिपोर्ट अनुसार उनको छातीदेखि पेटको भागसम्म ३० पटक चक्कु प्रहार भएको पाईएको छ ।
चक्कु प्रहारबाट मुटु, कलेजो, फोक्सोजस्ता भित्री अङ्गमा चोट लागेको छ । छातीका केही हड्डीहरु समेत भाँचिएका पोस्ट मार्टम रिपोर्टले देखाएको छ । परियारको मंगलबार साँझ अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो ।
https://www.facebook.com/khabarnirvik/videos/1622325094820767
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने र घटनापछि भएका क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको हो । यससँगै भरतपुर अस्पतालको शवगृहमा रहेको परियारको शव परिवारले दाहसंस्कार गरेका हुन् । परियारको आइतबार साँझ अबेर भरतपुर महानगरपालिका–७ कृष्णपुरमा हत्या भएको थियो ।
बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा सहमति भएको हो । श्रेष्ठले राहत तत्काल दिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कुराकानी गरेको बताए । स्थानीय प्रशासनले दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग आफ्नो रहेको बताए । नेपाली कांग्रेस चितवनले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र सहिद घोषणा गर्न माग गरेको छ ।
Discussion about this post