Skip to main content

Nirvik Khabar

जापानमा नेपाली चालकलाई रोजगारीको अवसर : मासिक २ लाख ५० हजारभन्दा बढी तलब

Advertisements
Single Page Long - 2

चितवन — जापानमा व्यावसायिक सवारी चालकको अभाव बढ्दै गएपछि नेपाली चालकहरूका लागि रोजगारीको नयाँ अवसर खुल्ने भएको छ। जापानमा मासिक २ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने अवसरलाई लक्षित गर्दै लाइफलाइन ओभरसिज (CHITWAN) प्रा.लि. र भिक्ट्री निहोन एजुकेशनल कन्सल्टेन्सीले पहिलो चरणमा ८०० जना नेपाली चालकलाई निःशुल्क जापानी भाषा तथा ड्राइभिङ तालिम दिने तयारी गरेका छन्।

यस कार्यक्रमअन्तर्गत नेपालमा ट्रक, बस तथा ट्याक्सी चलाउँदै आएका चालकहरूका साथै कतार, साउदी अरब, यूएई, कुवेतलगायत खाडी मुलुकमा लामो समयदेखि सवारी चालकका रूपमा कार्यरत अनुभवी नेपालीलाई प्राथमिकता दिइने जनाइएको छ।

लाइफलाइन ओभरसिजका अध्यक्ष सन्देश अर्याल जापानका विभिन्न सहरमा रहेका यातायात कम्पनी तथा स्थानीय, महानगर र प्रिफेक्चर तहका सरकारी प्रतिनिधिहरूसँग छलफल गरेर हालै नेपाल फर्किएका छन्। जापानका यातायात कम्पनीहरू नेपाली चालकलाई रोजगारी दिन सकारात्मक रहेको र त्यहाँ दक्ष चालकको माग निरन्तर बढिरहेको अर्यालले बताएका छन्।

उनका अनुसार नेपाली चालकमा आवश्यक सीप र अनुभव भए पनि जापानमा काम गर्न भाषागत ज्ञान तथा त्यहाँको ड्राइभिङ प्रणालीबारे जानकारी आवश्यक हुन्छ। त्यसैले चालकहरूलाई भाषा र व्यावसायिक ड्राइभिङ तालिम दिएर जापानमा रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्य राखिएको छ।

कम्पनीले दिएको जानकारीअनुसार जापानमा रोजगार सम्झौताअनुसार नेपाली चालकले मासिक २ लाख ५० हजार रुपैयाँभन्दा बढी बराबरको पारिश्रमिक पाउन सक्नेछन्। यसबाहेक बोनस, ओभरटाइम, सामाजिक सुरक्षा तथा अन्य सुविधासमेत उपलब्ध हुन सक्ने जनाइएको छ।

त्यस्तै, हवाई टिकट, जापानी ड्राइभिङ लाइसेन्सको तयारी तथा प्रक्रियामा लाग्ने करिब ११ लाख रुपैयाँसम्मको खर्च जापानी रोजगारदाता कम्पनीबाटै व्यहोर्ने व्यवस्थाका लागि सहकार्य भइरहेको कम्पनीको भनाइ छ।

नेपाल र जापानमा सडकको बायाँतर्फबाट सवारी सञ्चालन हुने भएकाले नेपाली चालकलाई जापानको ड्राइभिङ प्रणालीमा अभ्यस्त हुन तुलनात्मक रूपमा सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, जापानमा रोजगारीका लागि आवश्यक जापानी भाषा, सीप परीक्षा, ट्राफिक नियम तथा ड्राइभिङ लाइसेन्ससम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

कम्पनीका अनुसार यसअघि पनि उनीहरूको सहकार्यमा जापान पुगेका नेपाली ट्रक चालकहरू त्यहाँ सफलतापूर्वक काम गरिरहेका छन्। सोही अनुभवका आधारमा कार्यक्रमलाई थप विस्तार गर्दै ठूलो संख्यामा नेपाली चालकलाई जापान पठाउने तयारी गरिएको हो।

पहिलो चरणमा छनोट गरिने ८०० जना चालकलाई निःशुल्क जापानी भाषा तथा ड्राइभिङ तालिम दिने योजनाअनुसार चितवन, पोखरा र काठमाडौंमा कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ।

कम्पनीले नेपाल तथा खाडी मुलुकमा कार्यरत इच्छुक र अनुभवी चालकलाई आफ्नो ड्राइभिङ लाइसेन्स तथा कार्यअनुभवसम्बन्धी विवरणसहित लाइफलाइन ओभरसिज (CHITWAN) प्रा.लि. वा भिक्ट्री निहोन एजुकेशनल कन्सल्टेन्सीमा सम्पर्क गरी प्रारम्भिक छनोट र तालिम प्रक्रियाबारे जानकारी लिन आग्रह गरेको छ। —

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस