Nirvik Khabar

एकताअघि नै ओली हटाउने प्रयासमा विष्णु पौडेल, समानान्तर गतिविधि सुरु गर्दै

Advertisements
Single Page Long - 2

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर पार्टी पुनर्गठन गर्ने प्रयास थालेका छन्। ओलीले आफूमाथिको संकट टार्न नेपाली कम्युनिस्ट पार्टीसँग एकताको प्रस्ताव अघि बढाएका छन्। तर, त्यो एकताअघि नै ओलीलाई विस्थापित गर्ने रणनीतिमा पौडेललगायत नेताहरू छन्।पौडेललाई तीन उपाध्यक्ष, महासचिव र उपमहासचिवहरूले साथ दिएको निकटस्थ नेताहरूको दाबी छ।  उनीहरूका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा पार्टीले पराजय भोग्दा पनि नैतिकताका आधारमा पद छोड्न इन्कार गरेपछि ओलीप्रति उनकै विश्वासपात्रहरूको विश्वास पनि टुटेको छ।

लामो समयदेखि अध्यक्ष ओलीका सारथि मानिने महासचिव पोखरेल र निर्णायक घडीमा सधैँ साथ दिएका उपाध्यक्ष पौडेलले नेतृत्व परिवर्तनको दबाब दिइरहेका थिए।ओलीको कार्यशैलीले पार्टी विसर्जनतर्फ जान लागेको भन्दै त्यसलाई रोक्न नेतृत्व विस्थापन गर्नुको विकल्प नभएको उनीहरूको तर्क छ।  ‘पहिले अध्यक्षबाट ओलीलाई हटाउने र पार्टीमा सुधार थाल्ने रणनीति बनेको छ,’ एक पदाधिकारीले भने। तर, निकटस्थहरू नै आफू विरुद्ध मोर्चाबन्दीमा लागेको सूचना पाएपछि ओलीले वाम एकताको प्रस्ताव अघि सारेका थिए।जसअनुसार नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने प्रयोजनसहित केही नेतालाई संवादमा खटाएका थिए। छिट्टै एकता गर्ने योजनाअनुसार संवाद जारी छ।

नेकपा संयोजक प्रचण्डले  वैशाख ३ गते महाराजगन्जस्थित शिक्षण अस्पतालमै पुगेर ओलीसँग भेट गरेका थिए।यस विषयमा पौडेलले असन्तुष्टि पोखेको एमाले सचिव महेश बस्नेत बताउँछन्। ‘बिरामी भएको बेला भएको सद्भावपूर्ण भेटलाई असंख्य अर्थ लगाएर कम्युनिस्ट पार्टी एकता भयो भने त बर्बादै हुन्छ भन्ने शैलीमा समाजवाद र जनवाद मन नपराउने र मुलुकको समृद्धि, विकास र राष्ट्रिय हित नचाहने शक्तिहरूले विरोध गर्नु त स्वाभाविक हो,’ बस्नेतले भनेका छन्, ‘तर आफूलाई वामपन्थी भन्न रुचाउने, अझ एमालेकै नामसँग जोडिएका कतिपय नेताहरूले समेत अनावश्यक हल्ला र टीकाटिप्पणी गरेको सुन्दा भने अचम्म लाग्छ।’

जेनजी आन्दोलनले प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका ओलीलाई गुन्डुमा निवासको चाँजो मिलाइदिएको बस्नेतले नै हो। उनले एमाले र नेकपाबीच एकताका विषयमा संवाद भइरहेको स्वीकार गरेका छन्।

‘राजनीतिक मतभेदहरू भए पनि राष्ट्रिय हित र सहकार्यका लागि संवाद आवश्यक हुन्छ, देश र जनताको हितमा यस्ता भेटघाट र समझदारीले स्थिरता, सहकार्य र एकताको बाटो खोलोस्,’ बस्नेतको थप भनाइ छ।

ओलीले नेकपासँग एकता गरिहाल्ने भयले एमाले पुनर्गठन गरिहाल्न उपाध्यक्ष पौडेल कस्सिएका छन्। उनले निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची रहेको बताए।‘यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन्?’ पौडेलले प्रश्न गरेका छन्।

एक पदाधिकारीका अनुसार पौडेलले अहिले देशभरका जिल्ला तहका नेता र केन्द्रीय सदस्यहरूसँग छुट्टै सम्पर्क सञ्जाल विस्तार गरेका छन्। वडा कमिटीसम्म एमालेलाई रुपान्तरण र पुनर्गठन गर्ने सन्देश पठाएका छन्।  कतिपयले उनले समानान्तर गतिविधिको अभ्यास गरेको बताएका छन्। यसका लागि पौडेलले नेता सुरेन्द्र पाण्डेसहित ११ औँ महाधिवेशनमा फरक प्यानलबाट प्रतिस्पर्धा गरेका नेताको साथ लिन संवाद गरिरहेका छन्।

११ औँ महाधिवेशनमा पाण्डे सहितका नेताहरू ईश्वर पोखरेल प्यानलबाट चुनाव लडेर पराजित भएका थिए। पाण्डेका पछिल्ला अभिव्यक्तिले त्यसकै संकेत गर्छ। उनी पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताउँछन्। यद्यपि, पछिल्ला केही दिन यता नेताहरूसँग भेट नभएको उनले बताए।अर्का एक नेता भने पौडेललाई पाण्डेको पनि साथ रहेको दाबी गर्छन्।

‘नेकपासँगको एकता रोकेर पहिला नेतृत्व आफ्नो हातमा लिने उहाँहरूको प्रयास छ,’ उनले भने, ‘यसका लागि उपाध्यक्ष विष्णु पौडेलले पहल थाल्नुभएको छ, जसमा सुरेन्द्र पाण्डेले पनि साथ दिनुभएको छ। महासचिव शंकर पोखरेलको समर्थन छ।’

पार्टीभित्रको संकट टार्न प्रचण्डसँग एकताको लागि ओली हतारिएको उनीहरूको बुझाइ छ।‘एकता गरेर अहिलेलाई नेतृत्व सुरक्षित गर्ने रणनीति अनुसार एकताको कुरा बाहिर फ्याँकिएको हुनसक्छ,’ पौडेलको भनाइ उधृत गर्दै ती नेताले भने। माले उपमहासचिव लेखराज भट्टले पनि अध्यक्ष हटाउन केही नेताले गृहकार्य गरिरहेको बताए।‘उहाँहरूका पछिल्ला लेखाइबाट त्यो प्रस्ट देखिन्छ,’ उनले भने, ‘चुनावको समीक्षा त गर्नैपर्‍यो। अध्यक्ष मात्र जिम्मेवार हुने कि अरु पदाधिकारीको पनि जिम्मेवारी रहने भन्ने निर्क्यौल गर्नैपर्छ।’

‘अहिले जुन भाष्य निर्माण गरिएको छ, त्यसमा हाम्रा नेताहरू त जानु भएन नि,’ उनले थपे, ‘अध्यक्ष भरखर रिहा हुनु भएको छ। पूर्णतः स्वस्थ भएपछि केन्द्रको सचिवालयको बैठक बस्ने, तलको रिपोर्ट हेरेपछि निष्कर्ष के आउँछ अनि मात्र अघि बढ्नु राम्रो हुन्छ।’एमाले सचिव भानुभक्त ढकाल भने पौडेल लगायतको गतिविधिप्रति रुष्ट छन्। फेसबुकमा स्टाटस लेखेर  समानान्तर गतिविधि नहुने उनले बताए।‘उहाँहरू किन तरङ्गमा बहकिनु हुन्छ थाहा भएन,’ उनले भने, ‘स्वास्थ्यलाभको कामना गर्न गएको कुरालाई राजनीति मात्रै देख्ने कुरा चिन्तनमा रहेको समस्या हो,’ उनले थपे, ‘अरु विषय केही छैन। पत्रिकामा समाचार लेखाउने, त्यसकै विरुद्धमा वक्तव्य दिन लाउने र रोजगारी सिर्जना गर्ने काम भइरहेको छ एमालेभित्र।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस