नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्। सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार नै राजीनामा बुझाएका कांग्रेसको पदाधिकारी तहका एक वरिष्ठ नेताले जानकारी दिए। तर, थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन
कांग्रेसले यही चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। बैठकअघि थापाले राजीनामा दिएका हुन्। गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेका थिए। विशेष महाधिवेशनले थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। तर, त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिट अहिले पनि सर्वाेच्चमा विचाराधीन अवस्थामा छ।विशेष महाधिवेशन लगत्तै कांग्रेस निर्वाचनमा होमिएको थियो। निर्वाचनमा थापा सर्लाही ४ मा रास्वपाका अमरेश सिंहसँग पराजित बनेका थिए। निर्वाचनमा थापा मात्रै पराजित बनेन्, धेरै शीर्ष नेताले चुनाव जित्न सकेनन्। चुनावमा रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट मात्र जित्न सक्यो।निर्वाचनमा कमजोर प्रतिपक्ष बनेपछि देउवा पक्षका नेताले थापाको आलोचना गर्दै आएका छन्।


































Discussion about this post