भरतपुर –रोटरी क्लब अफ चितवनको एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ६६ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।
महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग (भीआइए) १६६ जनाको परिक्षण गरिएकोमा भिडियो एक्सरे १ सय ५ जनाको गरिएको हो ।
नारायणी सामुदायीक अस्पताल तथा नेशनलसिटी अस्पतालको प्राविधिक सहयोगमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको क्लबका अध्यक्ष भानु शर्माले बताए । भरतपुर ११ गणेशधाममा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा गर्भवती तथा अन्य महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरिएको हो ।
शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी अन्तरक्रिया तथा जानकारी प्रदान गरिनुका साथै बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा लोक बहादुर सेढाईं र क्यान्सर रोग विशेषज्ञ डा बिनुमा श्रेष्ठ लगाएतको टिमले महिलाको स्वास्थ्य जाँच गरेका थिए। क्यान्सर रोग विशेषज्ञ डा बिनुमा श्रेष्ठ पाठेघरको मुखको क्यान्सर शुरूको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिने जानकारी गराइन् ।
स्वास्थ्य शिविरमा गणेशधाम आमा समूह , गणेशधाम संरक्षण सम्बर्द्धन समिति,गणेशधाम टोल बिकास संस्था , लागू आैषध दुर्व्यसनी तथा न्यूनीकरण समिति सहयोगी संस्थाको रूपमा रहेका थिए ।
के कारणले हुन्छ त महिलामा पाठेघरको क्यान्सर ?
पाठेघरको क्यान्सर कम उमेरको यौन सम्पर्क, कम उमेरमा गर्भधारण, एकभन्दा बढीसँग यौन सम्पर्क राख्नु, उचित सरसफाइको अभाव, सूर्तीजन्य पदार्थ सेवन र गुप्ताङ्गसम्बन्धी अन्य खाले दीर्घरोगी भएका महिलालाई हुने जोखिम बढी हुन्छ ।
महिनावारी रोकिइसकेका महिलामा फेरि रगत वा रगत मिसिएको योनीश्राव देखिनु, यौन सम्पर्कपश्चात् रगत आउनु र यौनाङ्गबाट असामान्य प्रकारको गन्हाउने श्राव निस्कनु पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण भएको चिकित्सक बताउँछन् ।
यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न, तर दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ । यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिन्छ ।
पाठेघरको मुखको क्यान्सर केही मिनेटमै पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर अन्यत्र फैलिएको छ÷छैन थाहा पाउन अल्ट्रासाउण्ड, सिटीस्क्यान, आइभीयू वा एक्सरे गराउनुपर्छ ।








































Discussion about this post