चितवन, आजदेखि स्वास्थ्य बीमा लागू गरेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बिरामीले झन्झट व्यहोर्न र लामो पालो कुर्नु नपर्ने जनाएको छ । अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी शल्यक्रिया, सिटी स्क्यान, एमआरआई जस्ता बिरामीको धेरै चाप हुने सेवामा पनि बीमा भएकै कारण लामो पालो कुर्न नपर्ने जनाएको हो । पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले अन्य केही अस्पतालहरुमा बीमा मार्फत् उपचार गर्दा झन्झटिलो हुने गरेको गुनासो आफूले पनि सुन्ने गरेको भन्दै यस्तो समस्या यहाँ नहुने बताउनुभयो । उहाँले भन्नुभयो “झन्झटरहित तरिकाले, लामो पालो कुर्न नपर्ने गरी अन्य बिरामी सरह बीमाका बिरामीलाई पनि सेवा दिन्छौं ।”
देवकोटाले बीमा सुविधा सिएमसीको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा पनि लागू हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “क्यान्सर लगायतका २० भन्दा बढी सुपरस्पेशलिष्ट सेवामा पनि बीमा मार्फत् उपचार गर्न पाईन्छ ।”स्वास्थ्य बीमा मार्फत् उपचार गर्दा बोर्डले तोके अनुसार सरकारी अस्पतालमा १० प्रतिशत र निजीमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । सोही अनुसार सिएमसीमा उपचार गर्दा पनि उपचार खर्चको २० प्रतिशत भने बिरामीले व्यहोर्नु पर्ने देवकोटाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. दयाराम लम्सालले आकस्मिक कक्षमा उपचारका लागि आउने बिमाका बिरामीलाई रिफर आवश्यक नपर्ने उहाँको भनाई छ । त्यसैगरी बृद्ध, अशक्तहरुलाई पनि प्रथम विन्दु अस्पतालको रिफर आवश्यक पर्ने बताउनुभयो । बहिरंग सेवामा आउने बिरामीले भने प्रथम विन्दु अस्पतालबाट रिफर ल्याउनु पर्ने उहाँले जानकारी दिनुभयो । डा. लम्सालले भन्नुभयो “रिफर ल्याउँदा स्पष्ट रुपमा ‘चितवन मेडिकल कलेज’ लेखेर रिफर ल्याउन सहज हुन्छ ।” उहाँले रिफरसँगै बीमाको कार्ड अनिवार्य ल्याउन पनि सुझाव दिनुभयो ।
बीमाका बिरामीलाई सहज होस् भनेर अस्पतालमा छुट्टै काउन्टरको व्यवस्था गरिएको भन्दै उहाँले तालिम प्राप्त कर्मचारीहरुलाई बीमाको काउन्टरमा राखिएको जानकारी दिनुभयो । “बिरामीलाई झन्झटरहित तरिकाले सेवा दिन हामीले व्यवस्था गरिसकेका छौं ।” उहाँले अगाडि थप्नुभयो “बीमाका बिरामीलाई लक्षित गरी जनशक्ति पनि थप गरेका छौं ।”
सो अवसरमा उहाँले अस्पतालले गरेका कार्यहरु बारे पनि पत्रकारलाई जानकारी दिनुभयो । उहाँले अस्पतालले विगत दुई दशकदेखि स्वास्थ्य सेवा दिंदै आएको चर्चा गर्दै अस्पतालमा स्वास्थ्य क्षेत्रमा पछिल्लो पटक विकास भएका अत्याधुनिक उपकरण, दक्ष जनशक्ति सहित सर्वसुलभ सेवा दिंदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “निजी मेडिकल कलेज भएर पनि राज्यले तोकेका निःशुल्क सेवाहरु र विपन्नलाई निःशुल्क सेवा समेत यस अस्पतालले उपलब्ध गराउँदै आएको छ ।”
बीस भन्दा बढी सुपर स्पेशलिष्ट सेवा अस्पतालमा सञ्चालन रहेको डा.लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार पल्मोनरी, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन, अंकोलोजी÷क्यान्सर सेवा, अर्थप्लास्टि, जोर्नी प्रत्यारोपण, जीआई सर्जरी, कार्डियोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, स्पाईन सर्जरी, न्यूरो सर्जरी, इण्डोक्राईनोलोजी, सिटिभिएस, ईन्टरभेन्सन रेडियोलोजी, पेडियाट्रिक सर्जरी, ब्राकी थेरापी, इमर्जेन्सी मेडिसिन, युरोलोजी, क्रिटिकल केयर मेडिसिन, हेयर ट्रान्सप्लान्ट, बर्न एण्ड प्लास्टिक सर्जरी जस्ता सुपर स्पेशलिष्ट सेवा अस्पतालले दिंदै आएको छ । डायग्नोस्टिक सेवा अन्तर्गत स्पेक्ट सिटी, सिटी स्क्यान, एमआरआई, फ्लोरोस्कोपी, क्याथल्याब, मेमोग्राफी, लिन्याक (ट्रुबिम) ब्राकी थेरापी, इण्डोस्कोपी अल्ट्रासाउण्ड, सिटी स्क्यान एण्ड एमआरआई फ्युजन युएसजी, डेक्सस्क्यान, लिभर टेष्ट जस्ता सेवा अस्पतालमा रहेको उहाँले बताउनुभयो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका विपन्न नागरिक औषधि उपचार सेवा समेत अस्पतालमा उपलब्ध रहेको भन्दै डा. लम्सालले भन्नुभयो “मुटुरोग, मेरुदण्डको समस्या, क्यान्सर, पार्किन्सन, टाउकोको चोट, अज्लाईमर रोग भएकाहरुको रु. एक लाखसम्म निःशुल्क सेवा पाउँछन् । क्यान्सर उपचारमा विभिन्न प्रदेशहरुले दिने छुट सुविधा पनि यहाँ रहेको छ ।”गत आर्थिक वर्षमा एक लाखसम्मको छुट लिनेको संख्या ९९२ रहेको थियो । निःशुल्क डाइलासिस ६ हजार २३१ सेसन रहेको छ । भरतपुर महानगरका महिलाहरुको निःशुल्क परीक्षण कार्यक्रम अन्तर्गत चार हजार ३९५ ले सेवा लिएका छन् । गत आर्थिक वर्षमा गरिब, विपन्न छुट अन्तर्गत ५ करोड ६१ लाख ८ हजार ४१३ रुपैयाँ बराबरको उपचार अस्पतालले निःशुल्क दिएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क डेलिभरी (साधारण) र अप्रेशन (शल्यक्रिया) सेवा साथै बाटो खर्च पनि उपलब्ध हुने गरी सुत्केरी सेवा दिंदै आएका उहाँको भनाई छ । उहाँले थप्नुभयो “डाईलासिस र खोप सेवा पनि निःशुल्क रहेको छ । गत आर्थिक वर्षमा हामीले एक हजार ५५ जनालाई निःशुल्क प्रसुती सेवा दिएका छौं ।”
बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म ओपिडि (बहिरंग) सेवा नियमित दिंदै आईरहेको भन्दै उहाँले यसका अतिरिक्त कर्मचारी तथा विद्यार्थी लगायतलाई साँझको समयमा सहज हुने गरी ईएचएस सेवा समेत उपलब्ध रहेको बताउनुभयो ।अस्पतालले गत आर्थिक वर्षमा (२०८० साउन १ देखि ०८१ असार ३१ गतेसम्म) बहिरंग सेवामा एक लाख ८४ हजार २८ जनालाई सेवा दिएको छ । जसमा नयाँ बिरामी ५९ हजार ५५१ रहेका छन् भने एक लाख ७ हजार ३९९ जना फलोअप बिरामी रहेका छन् । यसै अवधिमा १७ हजार ७८ जनालाई आकस्मिक सेवा अस्पतालले दिएको छ । अस्पतालमा गत आर्थिक वर्षमा २ हजार ४९६ जटिल प्रकृतिका शल्यक्रिया भएका छन् भने ठूलो संख्यामा मध्यम र सानातिना शल्यक्रिया भएका छन् । अस्पतालमा आईएसओ सर्टिफाईड प्रयोगशाला रहेका छ । जहाँको परीक्षणबाट रोग पहिचान र उपचारमा ठूलो सफलता मिल्ने डा. लम्साल बताउनुहुन्छ ।


































Discussion about this post