काठमाडौँ । नेपाल अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको तेस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको छ । जित नजिक पुगेर पनि नेपाल एक रनले पराजित भएको हो । नेपालले मात्र ११६ रनको चुनौती पछ्याइरहेको अवस्थामा नेपालले ७ विकेटको क्षतिमा ११४ रनमात्र बनाउन सक्यो ।
नेपालले यो खेल जितेको भए ऐतिहासिक कीर्तिमान हासिल गर्ने थियो । नेपालले दक्षिण अफ्रिकासँग पहिलो पटक खेलेको थियो ।अन्तिम बलमा गुल्सन झा रनआउट भए । उनले एक रन लिएको भए खेल सुपर ओभरमा पुग्ने थियो । उनले डाइभ गरेको भए रन पूरा हुने थियो ।नेपालका लागि आसिफ शेखले ४९ बलमा १ छक्का र ४ चौकाको मद्धतले ४२ रन बनाए । तेस्रो विकेटका लागि शेखसँग मिलेर ५० रनको साझेदारी गर्ने क्रममा अनिल साहले २४ बलमा एक छक्काको मद्धतले २७ रन बनाए ।
यसअघि पहिलो विकेटका लागि आसिफसँग मिलेर ३५ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले २१ बलमा एक छक्काको मद्धतले १३ रन बनाएर आउट भएका थिए । सोमपाल कामी ४ बलमा ८ रन बनाएर अविजित रहे ।विश्वकप इतिहासकै कान्छा कप्तान रोहित पौडेल भने २ बलमा रनको खाता नखोली आउट भएका थिए ।यसअघि आसिफ शेख व्यक्तिगत १ रन बनाउँदा कागिसो रबाडाबाट क्याचआउट हुनबाट जोगिएका थिए ।दक्षिण अप्रिकाका लागि ताब्रेज शाम्शीले १९ रन खर्चेर ४ विकेट लिए ।
यसअघि वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गर्दै दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो ।दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर मात्र ११५ रन बनायो । ओपनर रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए ।त्यस्तै ट्रिस्टन स्टुब्सले १८ बलमा अविजित रहँदै २७ रन बनाए ।नेपालका लागि कुशल भुर्तेलले १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चेर ३ विकेट लिए ।
विश्वकपमा पहिलो पटक खेल्न पाएका सन्दीप लामिछानेले १८ रन खर्चेर कुनै विकेट लिएनन् ।भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन ।यो हारसँगै नेपालको सुपर एटको सम्भावना सकिएको छ ।
नेपालले अब अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपाल र श्रीलंका बाहिरिएका छन् ।पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो ।यो समूहबाट अब बंगलादेश र नेदरल्याण्ड्समध्ये एक टिम पुग्नेछ ।


































Discussion about this post