चितवन, साउन ९–
जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा भरतपुरको चौविसकोठीका १० वटा फार्मेसीमा अनुगमन गरिएको छ । प्रशासनका नासु विश्वास श्रेष्ठको नेतृत्वमा गएका अनुगमन टोलीले फार्मेसी दर्ताको प्रमाणपत्र, औषधी बेच्नेको अनुमति पत्र, पसलले जारी गर्ने बिल र औषधीको म्याद हेरेको थियो ।
अधिकांश फार्मेसीले जारी गर्ने बिलमा कैफियत भेटिएको जिल्ला प्रशासन कार्यालयका नासु श्रेष्ठले जानकारी दिए । चौबीसकोठीका औषधि पसलहरुले औषधि खरिद गर्नेको नाम नै उल्लेख नगरी बिल जारी गर्ने गरेको पाइएको उनले बताए ।
त्यस्तै, बिल जारी गर्दा औषधिको ब्याच नम्बर र म्याद सकिने अवधि उल्लेख गर्नुपर्नेमा कसैले पनि त्यसको पालना गरेका छैनन् ।पसलको दर्ता प्रमाणपत्र नवीकरण नगर्ने रिजन फार्मेसीका सञ्चालकलाई प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए । ‘प्रायः फार्मेसीले बिल काट्दा औषधि खरिद गर्नेको नाम नै उल्लेख नगरेको पाइयो । केही पसलमा औषधि बेच्न बस्नेले अनुमतिपत्र देखाउन सकेनन्’, उनले भने, ‘औषधि बेच्न अनिवार्य फार्मेसी पढेको हुनुपर्छ ।’
गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयको नेतृत्वमा सोमबार औषधि पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख जयराम दुवाडी, प्रहरीलगायत सहभागी थिए ।
Discussion about this post