Nirvik Khabar

स्थानीय उत्पादनको प्रवद्र्धनका निम्ति भरतपुरमा शनिबारे मेला लाग्ने

चितवन – स्थानीय उत्पादनहरुको प्रवद्र्धनका लागि भरतपुरमा शनिबारे मेला लाग्ने भएको छ । चितवन उद्योग संघको समन्वयमा स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरणमा पहुँच नपुगेका उत्पादनहरुको प्रवद्र्धनका निम्ति चितवन प्रदर्शनी केन्द्र परिसरमा मेला गर्न लागिएको हो ।

साउन ६ गतेदेखि हरेक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म प्रदर्शनी केन्द्र भरतपुरमा शनिबारे मेलाको आयोजना गरिँदैछ । मेलाबाट स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्नेछ । प्रदर्शनीमा चितवनका सातवटै स्थानीय पालिकाहरुको समन्वय रहेको छ भने रैथाने कृषिसँग सम्बन्धित उत्पादनहरुको स्टल रहने संघले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रदर्शनीमा ताजा फलफूल तथा तरकारी, मह, घरेलु अचार तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, हस्तकलाका सामग्रीहरु, अण्डा, माछा तथा गेडागुडीहरु, चिया, कफीका साथै हर्बल सामग्रीहरु र विभिन्न परिकारका खानाका स्टलहरु रहनेछन् । प्रदर्शनीमा स्टल राख्न चाहनेहरुले प्रतिदिनको प्रति स्टल एक हजार रुपैयाँ सहभागिता शुल्क तिर्नुपर्नेछ ।

मेला स्थलआसपासका निजी तथा सरकारी संस्थाहरुमा कार्यरत करिब २० हजार जागिरे, स्थानीय टोल तथा छिमेकी पालिकाहरुका व्यक्तिहरु नै मेलाका मुख्य लक्षित ग्राहकका रुपमा रहने आयोजकले जनाएको छ । मेलामा राखिने विशेष परिकार तथा उत्पादनहरु जिल्ला बाहिर पठाउनका लागि समेत बिक्री गर्ने लक्ष्य लिइएको छ ।

उत्पादक र उपभोक्ताहरुलाई एउटै छानामुनी प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन एक हजारभन्दा धेरै स्थानी खरिदकर्ताको उपस्थिति हुने अपेक्षा राखिएको छ । मेलामा अवलोकन गर्न आउने ग्राहकहरुको लागि निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको मेलालाई ‘फार्मदेखि किचनसम्म’ अवधारणाअनुसार उत्पादक र उपभोक्ताहरुको मागबमोजिम आवश्यकताअनुसार परिस्कृत गर्दै नयाँ वस्तु तथा उत्पादनहरु सार्वजनिक गर्ने, खरिदकर्ता तथा बिक्रेताको जमघट हुने र उद्यमीहरुको भेटघाट हुने उपयुक्त स्थलको रुपमा विकास गर्दै जाने लक्ष्य लिइएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस