Nirvik Khabar

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

निर्भीक खबर
निर्भीक खबर

भरतपुर १९ जेठ 
चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो चरणमा यस वर्ष कालिका वडा नं१० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाइएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस विद्यालयका विद्यार्थीलाई असारसम्म फापर र कोदोको रोटी खुवाइनेछ ।

यस वर्ष परीक्षणस्वरुप एउटा विद्यालयबाट कार्यक्रम सुरुवात गरेका छौँ, नगरप्रमुख रेग्मीले भन्नुभयो, “यसको प्रभावकारिताका आधारमा आगामी वर्ष अन्य विद्यालयमा पनि यो कार्यक्रम लागु गर्छौं । पालिकाले कृषि शाखाको रैथाने बाली प्रवर्द्धन कार्यक्रममार्फत यस वर्ष रु एक लाख बजेट विनियोजन गरिएको छ भने यस विद्यालयमा सरकारले दिने नियमित खाजा पनि छ”, आगामी वर्षदेखि विद्यार्थीलाई फापर र कोदोसँगै गिठ्ठा भ्याकुर, तरुल र पिडालु पनि खुवाउने उहाँले बताउनुभयो ।
विद्यालयका प्राचार्य जीतबहादुर भट्टराईले रैथाने बालीको प्राङ्गारिक हुने भएकाले यसैलाई जोड दिइएको बताउनुभयो । रैथाने वालीहरु लोप हुँदै गइरहेको अवस्थामा विद्यालयस्तरमा यस्ता खाजा खुवाउँदा पछिल्लो पुस्तालाई रैथाने बालीका बारेमा राम्रोसँग जानकारी हुने उहाँको भनाइ थियो । विद्यालयमा अधिकांश चेपाङ र जनजाति समुदायका बालबालिका अध्ययनरत छन् । कक्षा पाँचसम्ममा एक सय ६४ विद्यार्थीलाई खाजा नियमित खुवाइएको र खाजाकै कारण विद्यार्थीको सङ्ख्यासमेत बढेको छ । कतिपय बालबालिका भोकभोकै विद्यालय आउने गरेका छन्, प्राचार्य भट्टराईले भन्नुभयो, “खाजा खान पाइन्छ भन्ने आसले पनि बालबालिका विद्यालय आउँछन् तर खाजा खुवाउन सरकारले दिने रकम थोरै भएकाले यसलाई बढाउनसके अझै राम्रो खानेकुरा खुवाउन सकिन्थ्यो ।”

नियमित खाजाका लागि सरकारले दैनिक रु पन्ध्र दिने गरेको छ । त्यसबाट स्कुलले बालबालिकालाई जाउलो चिउरा तरकारी खुवाउने गरेको छ ।

कालिका नगरपालिकाका कृषि शाखा प्रमुख लक्ष्मण पोखरेलले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष विनियोजित रु १० लाख बजेटबाट केही रकम विद्यालय खाजामा प्रयोग गरिएको बताउनुभयो । रैथाने बालीमा पौष्टिकतत्व बढी हुने हुँदा बालबालिकालाई यो खाजा खुवाउनु लाभदायिक हुने उहाँको भनाइ थियो ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available